एजेन्सी । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले अमेरिकाको गुआममा मिसाईल आक्रमण गर्नुअघि त्यहाँको उसको गतिबिधी निगरानी गरिरहेको बताएका छन् ।

नेता उनले प्रशान्त महासागरको टापुमा पर्ने गुआममा अमेरिकाको गतिविधिको निरीक्षण गरिरहेको बताएको उत्तर कोरियाको सरकारी समाचार संस्था केसिएनएले जनाएको छ । उनले गुआममा मिसाईल आक्रमण गर्नेबारे नेता तथा उच्च सैन्य अधिकारीलाई जानकारी गराएको केसिएनएलाई उदृत गर्दै बिबिसीले लेखेको छ ।

गुआममा मिसाईल आक्रमणका लागि उत्तर कोरिया तयारी अवस्थामा रहेको भन्दै त्यसअघि अमेरिकी गतिबिधी निगरानी गर्ने र अमेरिकाले केहि कदम चाल्ने बित्तिकै नेता किम जोन उनले मिसाईल आक्रमणको आदेश दिने दाबी गरिएको छ ।

गएको हप्ता उत्तर कोरियाले अमेरिकी बमवर्षक बिमान तथा हतियारको भण्डारण रहेको गुआममा ४ वटा रकेटमार्फत मिसाईल आक्रमण गर्ने तयारी भईरहेको जनाएको थियो ।

लगत्तै अमेरिकाले पनि त्यसको प्रतिवाद गर्दै उत्तर कोरियाले आफ्नो गतिविधिमा नियन्त्रण नराखे सैन्य कारवाहि गर्ने चेतावनी दिएको थियो । गुआममा मिसाईल आक्रमण गर्ने बताएपछि उत्तर कोरिया र अमेरिकाबिच वाकयुद्ध झन चर्किदैँ गएको छ ।