१६ वैशाख, एजेन्सी।

४४ वर्षिय गुगलका सिइओ सुन्दर पिचाइले अघिल्लो वर्ष (सन् २०१६ मा) झण्डै २०० मिलियन डलर कमाइ गरेका छन् ।

सन् २०१६ मा पिचाइले ६५०,००० डलर पारिश्रमिक पाएका छन्। यो रकम सन् २०१५ मा उनले पाएको पारिश्रमिक ६५२,००० डलर भन्दा थौरै कम हो।

तर लामो समय गुगलका कर्मचारी रहेका उनी सन् २०१५ अगस्टमा कम्पनीको सिइओ भएपछि सन् २०१६ मा करिब १९८.७ मिलियन डलर ‘स्टक रिवार्ड’ पाएका हुन। यो रकम सन् २०१५ को स्टक रिवार्ड ९९.८ मिलियन डलर भन्दा करिब दोब्बर रकम हो।

कम्पनीको ‘कम्पेन्सेसन कमिटी’ले पिचाइलाई सिइओ बनेपछि ‘थुप्रै सफल प्रोडक्ट लञ्च’ गरेको कारण उनलाई यत्रो रकम छुट्याएको हो।

गुगलको सह-संस्थापक तथा पूर्व सिइओ ल्यारी पेज अल्फाबेट कम्पनी अन्तर्गत नयाँ व्यावसायमा केन्द्रीत छन्।

पिचाइको नेतृत्वमा गुगलको युट्युब व्यापार फस्टाएको छ भने उनले ‘मेसिन लर्निङ’, हार्डवेयर र क्लाउड कम्प्युटिङमा लगानी गराएका छन्।

सन् २०१६ मा गुगलले नयाँ स्मार्टफोन, भर्चुअल रिआलिटी हेडसेट र भ्वाइस कन्ट्रोल्ड स्मार्ट स्पिकर बजारमा ल्याएको थियो ।

यी नयाँ प्रोडक्ट र पिचाइको नयाँ प्रयास कम्पनीको लागि फाइदाजनक सिद्ध भएको छ। कम्पनीको नाफा बढेकाले त्यसको लाभांश पिचाइले पाएका हुन।