मकवानपुर, ३१ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याएको गुठि विधेयक कुनै पनि हालतमा संसदबाट पास गर्न नदिने बताएका छन् ।

मकवानपुरको सदरमुकाम हेटौंडामा शुक्रबारदेखि सुरु भएको नेपाली कांग्रेस निकट नेपाल साँस्कृतिक संघको जिल्ला सभापतिहरुको भेला तथा प्रशिक्षणको उद्घाटन गर्दै देउवाले ओली सरकारले संस्कृतीमाथि हमला गरेको भन्दै गुठि विधेयक कुनै पनि हालतमा संसदबाट पास गर्न नदिने दाबी गरेका हुन् ।

उनले सरकार अधिनायकवादी शैलीमा अगाडी बढेको तर विकास भने केहि पनि नदेखिएको बताए । उनले सरकारले प्रेसलाई नियन्त्रण गर्न खोज्ने, गीतकार तथा कलाकारहरुको स्वतन्त्रता हनन् गर्ने काम गरिरहेको आरोप लगाए । महामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रेसलाई धेरै कसैले सिध्याउन नसक्ने बताएका छन् । धेरैले सिध्याउन खोजे पनि नसकेको र नसक्ने उनको भनाई छ ।