२९ साउन, सल्यान ।

सडक माथीबाट खसेका ढुंगाले गुडिरहेको यात्रुवाहक बसमा लाग्दा सल्यानमा एक जनाको मृत्यु भएको छ । अन्य ११ जना घाइते भएका छन् । बस पल्टीएर सडकबाट तल खसेको छ ।

राप्ती लोकमार्ग अन्तर्गत दाङ सल्यान सडक खण्डको कपुरकोट गाउँपालिका ३ गोठरी खोलामा सडक माथीबाट खसेका ठूला ठूला ढुंगाले लाग्दा अन्दाजी ३२ वर्र्षीय एक पुरुषको घटना स्थलमै ज्यान गएको प्रहरी चौकी कपुरकोटले जनाएको छ ।

अहिलेसम्म् मृतकको सनाखत हुन सकेको छैन । सल्यान खलंगाबाट दाङ तर्फ गइरहेको ना ३ ख ३२३० नम्बरको सल्यान रुकुम यातायात समितीको गाडी आज दिउँसो दुर्घटनामा परेको हो ।

घाइतेहरुको तुलसिपुर स्थित अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरी चौकी कपुरकोले जनाएका छन् । प्रहरीका अनुसार अर्काे गाडीमा पनि झरेको ढुंगाले लागेको छ ।

दाङ सल्यान सडकखण्डको ठाउँठाउँमा पहिरो झरेको छ । वर्षायामको बेला माथीबाट ढुंगाहरु झरिरहने भएकाले यात्रुहरु जोखिमपूर्ण तरिकाले यस सडकखण्डमा यात्रा गरिरहेको छन् ।