२९ साउन, काठमाडौं ।

अविरल वर्षाका कारण देशै भरी जनधनको क्षति भएपछि, गृहमन्त्री जनार्दन शर्माको नेतृत्वमा केन्द्रिय कमाण्ड पोष्ट गठन गरिएको छ । गएराति बसेको आकस्मिक बैठकले गृहमन्त्री शर्माको नेतृत्वमा उद्धार कार्य चुस्त तथा छरितो बनाउन र बाढी पिडीतहरुको व्यवस्थापन गर्नका लागि कमाण्ड पोष्ट गठन गरिएको हो ।

केन्द्रिय दैवी प्रकोप उद्धार समितीको बैठकमा प्रभावित क्षेत्रमा औषधी सहितको स्वास्थ्य टोली पुर्याउने, यातायात सुचारु राख्ने, आपुर्ति व्यवस्थालाई सुचारु राख्ने, प्रभावित क्षेत्रमा राहत सामाग्री तत्काल वितरण गर्ने, जोखिममा रहेका भौतिक पूर्वाधारहरुको संरक्षण गर्ने, स्थानीय तहका जनप्रतिनिधीहरुको सक्रिय सहभागितालाई अभिवृद्धी गर्ने लगायतका निर्णयहरु भएका छन् ।

नेपाल खाद्य संस्थानका डिपोहरुमा पिडित परिवारलाई वितरण गर्न खाद्यन्नको प्याकेजिङ भइरहेको जनाइएको छ । यसैबीच नेकपा माओवादीबाट मन्त्री भएकाहरु राहात र उद्धारका लागि आज तराईका जिल्लाहरुमा जाने भएका छन् ।

मन्त्रीहरु कृष्णबहादुर महरा, जनार्दन शर्मा, गिरिराजमणी पोख्रेल, प्रभु साह, शिवकुमार मण्डल, सन्तकुमार थारु, महेन्द्रबहादुर शाही, टेकबहादुर बस्नेत आशा कोइराला तराई जान लागेको माओवादीले जनाएको छ ।