९ वैशाख, काठमाडौं । वरीयता विवादले मन्त्रिपरिषद बैठक अस्विकार गर्दै आउनुभएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले संसदको सम्मान र मर्यादामा अपमानजनक व्यवहार प्रदर्शन गर्नुभएको छ ।

संसदमा सभामुखले तोकेको स्थानमा प्रधानमन्त्रीदेखि मन्त्रीहरु, सत्तापक्ष, प्रतिपक्ष सबै दलका सांसद बस्नुपर्ने संसदको नियममा व्यवस्था छ । तर, सभामुखले तोकेको सत्तापक्षको कुर्सीमा नबसी निधिले बिहीबारको संसद बैठकमा अनौठो शैलीमा भाग लिनुभयो ।

एमालेले सांसद सत्यनारायण मण्डलको घरमा भएको घटनाबारे प्रश्न उठाएपछि जवाफ दिन निधि संसद पुग्नुभएको थियो । सांसदहरुले शुन्य समयमा बोल्ने क्रम सकिएपछि सभामुख ओनसरी घर्तीमगले गृहमन्त्रीले बोल्नका लागि समय मागेको भन्दै निधिलाई रोष्ट्रममा बोलाउनुभयो ।

बैठकमा उपस्थित नै नभएका गृहमन्त्रीलाई समय दिएको भन्दै सांसदहरु सभामुख आसन र सरकारका लागि छुट्याएको कुर्सीतिर हेराहेर गर्न थाले । त्यहीबीच गृहमन्त्री निधि मूलढोकाबाट फटाफट बैठकमा प्रवेश गरी सिधै रोस्ट्रममा पुग्नुभयो । र निर्वाचनका लागि सुरक्षालगायत एमालेले उठाएको घटनाबारे जवाफ दिनुभयो । जवाफ सकिएपछि गृहमन्त्री निधि मन्त्रीलाई तोकिएको स्थानमा नबसी सिधै बाहिरिएपछि सांसदहरु मुखामख गर्न थाल्नुभयो । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खवर छ ।