५ वैशाख, काठमाडौं ।

झण्डै १८ वर्षपछि स्थानीय चुनाव हुने समय नजिक आउँदै गर्दा पनि अझै चुनाव हुँदैन की भन्ने संशयलाई गृहमन्त्री विमलेन्द्र निधिले बल प्रदान गरेको भन्दै उनीप्रति सामाजिक संजालमा रोष प्रकट भएको छ । निधिले सोमबार बिहानको राती तीन पनि नबजी सुरक्षा र निर्वाचन आयोगको तयारीले मात्र चुनावका लागि पर्याप्त नभएको भन्दै वार्ता संवादबाट राजनीतिक निकास बनाउनुपर्ने लेखेका थिए ।

चुनाव गराउनुपर्ने निधिले रातीको समयमा यसरी निक्कै नजिक आउँदै गरेको चुनावप्रति संशय व्यक्त गरेको भन्दै बौद्धिक जगत, राजनीतिककर्मीदेखि सर्वसाधारणले निधिप्रति रोष प्रकट गरेका हुन् । पत्रकार कनकमणि दिक्षित, भुषण दाहाल, एमाले नेता योगेश भट्टराईसहितका नेताले चुनावप्रति गृहमन्त्रीेले संशय गरेकोप्रति आपत्ति जनाएका हुन् । सामाजिक संजाल फेसबुक र ट्वीटरमासमेत सर्वसाधारणले निधिप्रति रोष प्रकट गरेका हुन् ।

आफ्नो अंग्रेजी ट्वीटको विरोध भएपछि निधिले ‘निर्वाचनको लागि निर्वाचन आयोग र सुरक्षा निकायहरुको सम्पूर्ण तयारी भइसकेको छ । तर, निर्वाचनको लागि यी दुई पक्षको तयारीमात्र पर्याप्त हुँदैन । राजनीतिक दलहरुको सहभागिता अनिवार्य शर्त हुन् । यसको लागि वार्ता र संवादको आवश्यकता छ ।’ भन्दै अंग्रेजी ट्वीटको बचाउँ गरेका थिए ।

निधिमाथि अरु पनि दोष

निधिमाथि उपप्रधानमन्त्रीको वरियतामा कमल थापासँग कुरा नमिलेपछि मन्त्रिपरिषद्का दुई बैठक बहिष्कार गरेको दोष पनि छ । प्रधानमन्त्रीपछि आफूलाई वरियतामा नराखिएको भन्दै निधिले राजीनामा पनि नदिने र मन्त्रिपरिषद् बैठकमा पनि नजाने नीति लिंदा उनी आलोचनाका पात्र भएका हुन् ।

आफू पहिलो वरियतामा हुनुपर्ने पक्षमा निधि भए पनि प्रधानमन्त्री प्रचण्डले कमल थापालाई पहिलो वरियता दिने तयारी गरेसँगै निधिले मन्त्रिपरिषद् बैठक बहिष्कार गरेका हुन् । सुरुमा गृहमन्त्रीबाटै राजीनामा दिने चर्चा चले पनि कांग्रेस सभापति शेरबहादुर देउवाको आग्रहमा उनी राजीनामा दिनबाट रोकिएको बताइन्छ ।

तर, चुनावको बेलमा धेरै विषयमा मन्त्रिपरिषद्सँग समन्वयन गर्नुपर्ने, प्रधानमन्त्रीसँग छलफल गर्नुपर्ने भए पनि गृहमन्त्रीले यसरी बहिष्कार गर्दा चुनावी माहोल नबन्ने भन्दै उनको आलोचना भएको हो । संसदीय व्यवस्थामा प्रधानमन्त्रीमाथि उत्तरदायी हुनुपर्ने भए पनि निधिले मन्त्रिपरिषद् नै बहिष्कार गर्ने नीति लिएपछि उनीप्रति आलोचना र शंकाको स्वर सुनिएका हुन् ।

बैठकमा पनि फरक स्वभावका निधि

कांग्रेसको उनी सहभागी हुने बैठकमा पनि निधिको स्वभाव बिल्कुल फरक हुने गरेको बताइन्छ । निधि यस अघिदेखि नै संविधान संसोधन नभई निर्वाचन हुन नसक्ने पक्षमा मत राख्दै आएका थिए । उनै निधिले नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा समेत केही दिन अघि राजनीतिक वातावरण नबनेसम्म तराईमधेसमा चुनाव हुने वातावरण गाह्रो हुने बताएका थिए ।

यो सरकार बनाउनकै लागि भूमिका खेलेका निधि सरकार बनेकै संविधान संसोधन गर्न र कार्यान्वयनका लागि हो भन्दै आएका छन् । तराई मधेसबाटबाट नेपाली कांग्रेसको राजनीति गर्दै चुनाव जित्दै आएका निधिलाई निडर नेता पनि मानिन्छ । तर, पछिल्लो समय ३१ वैशाखमा घोषित निर्वाचनको लागि प्रभावकारी माहोल बन्नुपर्ने बेलामा निधिले माहोल बिगार्ने प्रतिक्रिया दिएकोप्रति उनीप्रति मानिसहरु सशंकित भएका हुन् ।