१५ चैत, काठमाडौं।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्ता पक्षबाट निर्वाचन आचारसंहिताको व्यापक उल्लंघन गरेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

सरकार र मन्त्रीहरुबाट निर्वाचन आचारसंहिताको ठाडो उल्लंघन गरेको भन्दै त्यस्तो कार्य तत्काल रोक्न एमाललेले मंगलबार निर्वाचन आयोगमा पुगेर लिखित ध्यानाकर्षण पत्र दर्ता गराएको हो ।

संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङका अनुसार एमालेले ध्यानाकर्षण बुझाएपछि आयोगले गृहमन्त्रालयसँग स्पष्टीकरण मागेको हो ।

उपनेता नेम्वाङ,प्र मुख सचेतक भानुभक्त ढकाल, पूर्वमन्त्री अग्नी खरेल, नेता राजन भट्टराई, राजेन्द्र पाण्डेको प्रतिनिधिमण्डलले आयोगमा ध्यानाकर्षण पत्र दर्ता गराएको थियो ।

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले कञ्चनपुरको पुनर्वास आनन्दबजार घटनाका पीडितलाई हेलिकोप्टर प्रयोग गरी पार्टीका तर्फबाट राहत चेक दिएको भन्दै एमालेले आपत्ति जनाएको छ ।

बजेट र नीति तथा कार्यक्रममा नपरेका कार्यक्रममा रकमान्तर गरेर व्यापक रुपमा सरकारले निकासा गरेको आरोप पनि एमालेले लगाएको छ ।

म्यादी प्रहरी नियुक्तिलाई वस्तुनिष्ठ र पारदर्शी बनाउन अनुगमन गर्न आयोगसँग एमालेले माग गरेको छ । निर्वाचन आयोगले राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले मात्रै आयोगको अनुमतिमा हेलिकोप्टर चढन पाउने व्यवस्था रहेको एमाले नेताहरुलाई जानकारी गराएको छ ।