१२ वैशाख, गुल्मी । स्थानीय निर्वाचनको लागि गुल्मीमा एमाले र माओवादी केन्द्रबीच भएको तालमेलको भागबण्डालाई लिएर एमाले कार्यकर्ताहरुले तीव्र आक्रोश पोखेका छन् । तालमेललाई लिएर जिल्ला नेतृत्वमा उत्साह देखिएपछि कार्यकर्ता भने असन्तुष्ट देखिएका छन् ।

गाउँ गाउँका कार्यकर्ताको राय सुझाव नलिइ जिल्ला नेतृत्वले एकलौटी सहमती गरि भागबण्डा गरेको भन्दै उनीहरुले निर्णय फिर्ता लिन चर्को दबाब दिएका छन् । असन्तोष व्यक्त गर्नेमा गुल्मी क्षेत्र नम्बर ३ का एमाले कार्यकर्ता बढी देखिएकाछन् । माओवादीसँग जिल्लाभर चुनावमा कार्यगत एकता भए अनुसार क्षेत्र नम्बर ३ का दुइ गाउँपालिका माओवादीको भागमा परेको छ । ३ नम्वर क्षेत्र एमाले सचिव तथा पूर्व उर्जामन्त्री गोकर्ण विष्टको क्षेत्र हो ।

यता, सामाजिक सञ्जालमा एमालेकै कार्यकर्ताले समेत गोकर्ण विष्टको राजनीतिमा नकारात्मक प्रभाव पार्ने उद्देश्यले एमाले जिल्ला कमिटीले भागवण्डा गर्दा क्षेत्र नम्वर ३का दुइ गाउँपालिका माओवादी केन्द्रलाई दिइएको भन्दै निर्णयको बिरोध गरेका छन् । गोकर्ण विष्ट निकट एक नेताका अनुसार माओवादीसँगको कार्यगत एकतालाई नराम्रो नमानिएपनि भागवण्डा पुरै पुर्वांग्रही छ ।

‘विष्ट ज्यू ले पछिल्लो समय आफ्नो क्षेत्रको नियमित भ्रमण गरि जनताका समस्या समाधानका लागि आवश्यक धेरै पहल गर्नुभएको छ, ’ ति नेताले भने, ‘केही दिन अघिमात्रै आफ्नो क्षेत्रमा हजारौं अन्य दलका नेता कार्यकर्ता उहाँकै हातबाट टिका थापेर एमाले प्रवेश गरेका छन् । उहाँको क्षेत्रका सबै गाउँपालिकामा जित सुनिश्चित भएको अवस्थामा दुइवटै गाउँपालिका माओवादीलाई दिने जिल्लाको निर्णय मानिदैंन ।’

जिल्लामा कार्यगत एकता गर्ने कुरा बताइए पनि भागवण्डाका विषयमा सांसद समेत रहेका विष्टसँग जिल्ला कमिटीले छलफल नै नगरेको ती नेताले बताए । तर एमाले पार्टीको हितका लागि एकता भएको जिल्ला कमिटीको दावी छ । एमाले जिल्ला कमिटीका अध्यक्ष मधुकृष्ण पन्तका अनुसार तालमेलको क्रममा एमालेको हैसियत माथि पारेर सहमति गरिएको छ । उनले कार्यकर्ताको असहमति अनुसार केही फेरवदल गर्न सकिने बताए ।

यसैवीच, मालिका गाउँपालिका वडा कमिटीका उपाध्यक्ष ठाकुर अर्याल र सचिव प्रेमबहादुर जिसीद्वारा संयुक्त विज्ञप्ती निकालेर एमाले जिल्लाको निर्णय एमालेका मतदाताको हित विपरित रहेको भन्दै निर्णय सच्याउन आग्रह गरेका छन् । उनीहरुले आफ्नो मागप्रति वेवास्ता गरिए एमाले जिल्ला कमिटी विरुद्ध आन्दोलन गर्ने समेत चेतावनी दिएका छन् ।