काठमाडौं, २ जेठ । गोक्यो हिमतालमा नौ महिनाअघि डुबेर बेपत्ता भएका एक विद्यार्थीको शव बिहीबार भेटिएको छ । पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका तीनजना मध्ये सुनिल बराईलीको शव भेटिएको हो ।

बराईलीको शव करिब ३५ फिट गहिराईबाट निकालिएको प्रहरीले जनाएको छ । यसका लागि विदेशी विशेषज्ञ र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले बुधबारबाट खोजी गरेको थियो ।

खोजकर्ताले परिचालन गरेको रोबर्टले बिहिबार बिहान मात्र शब पहिचान गरी बाहिर निकाल्न सफल भएको हो । गत साउन १८ गते शैक्षिक भ्रमणमा गएका बेला पौडी खेल्नेक्रमममा बराईली साथीको उद्धार गर्न जादा आफै डुबेर बेपत्ता भएका थिए । उनी जीउमा लगाएको कपडा सहित डुबेका थिए । सोही आधारमा उनको पहिचान गरिएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुका प्रमुख एवम् प्रहरी नायव उपरिक्षक सालिग्राम शर्माले बताए ।

बेपत्ता मध्ये १६ बर्षिय पेम्बा नुरु शेर्पाको शव गत साउनको २३ गते निकालेको थियो । अब १७ बर्षिय पेम्बा दोर्जी शेर्पाको शब खोज्ने कार्य जारी रहेको खोजकर्ताले बताएका छन् ।