५ जेठ, गोरखा ।

गोरखाका एघारवटै स्थानीय तहमा मतगणना सम्पन्न भएको छ । दुई नगरपालिका र सातवटा गाउँपालिका गरी नेपाली काँग्रेसले नौ स्थानीय तहमा जितेको छ भने दुई गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)ले जितेको छ । नेकपा (एमाले) र नयाँ शक्ति पार्टीले कुनै स्थानीय तहमा जित्न सकेनन् ।

गोरखा नगरपालिकामा काँग्रेस
गोरखा नगरपालिकामा ६ हजार ५६० मत ल्याएर नेकाका राजनराज पन्त नगरपालिका प्रमुख पदमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का कृष्णबहादुर रानाले पाँच हजार ६० मत ल्याए ।

उपप्रमुख पदमा नेकाकी बिनाकुमारी श्रेष्ठले ६ हजार २६० मत ल्याए । निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)की सम्झना देवकोटाले चार हजार ७०५ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

गोरखा नगरपालिकामा १४ वटा वडा रहेका छन् जसमध्ये १, २, ४, ५, ६, ८, ९ र १२ वडा नेकाले जितेको छ । यस्तै, ३, १० र १४ नं वडामा नेकपा (एमाले)ले जितेको हो भने नेकपा (माओवादी केन्द्र)ले ७, ११ र १३ वडामा जित हासिल गरेको छ ।

पालुङटारमा काँग्रेस

गोरखाको पालुङटार नगरपालिकाको प्रमुख पदमा नेकाका दीपकबाबु कँडेल विजयी भएका छन् । चार हजार ६९८ मत ल्याएर कँडेल विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका विवश चिन्तनले चार हजार ४९१ मत प्राप्त गरेका हुन ।

उपप्रमुख पदमा माओवादी केन्द्रकी पम्फा बसेल निर्वाचित भएकी छिन् । बसेलले चार हजार ४९४ मत प्राप्त गरिन भने निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी चेतकुमारी श्रेष्ठले चार हजार १९६ मत ल्याएका  छन् । दशवटा वडा रहेको पालुङटारमा नयाँ शक्ति पार्टीले १, ४ र ५ वडामा विजय हासिल गरेको हो ।

यस्तै, २, ६, ८ र १० नं वडामा माओवादी केन्द्र विजयी भयो भने वडा नं ७ मा एमाले विजयी भएको छ । काँग्रेसले वडा नं ३ र ९ जितेको छ । पालुङटार पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, पूर्वसङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डे र काँग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेको गृहनगर पनि हो । साथै पहिलो संंविधान सभा निर्वाचनमा नेपाल भरीकै सबैभन्दा बढी मत ल्याउँदै आफ्नो क्षेत्रमा तत्कालिन पार्टी माओवादीबाट डा. बाबुराम भट्टराई निर्वाचित भएका थिए।

भीमसेनमा काँग्रेस

गोरखाको भीमसेन गाउँपालिका प्रमुख पदमा काँग्रेसका ईश्वर पाण्डे तीन हजार ९४३ मतका साथ विजयी भएका  छन् । उपप्रमुखमा काँग्रेसकी बिनु वाग्ले तीन हजार ९८३ मतका साथ विजयी भएका हुन । काँग्रेसले माओवादी केन्द्रका लोकप्रसाद बञ्जरा र लीला श्रेष्ठलाई गरेका हुन ।

आरुघाटमा काँग्रेस

आरुघाट गाउँपालिकाको प्रमुख पदमा काँग्रेसका पूर्णबहादुर दाहालले तीन हजार ६७६ मत ल्याएर विजयी भएका छन् । उपप्रमुखमा काँग्रेसकै कल्पना नेपालीले तीन हजार ६०९ मत ल्याएर विजयी भए भने काँग्रेसले प्रमुख र उपप्रमुखमा क्रमशः एमालेका बकबहादुर लामा र मिनु बरामलाई हराएको हो ।

चुमनुब्रीमा काँग्रेस

उत्तरी हिमाली क्षेत्रमा रहेको चुमनुब्री गाउँपालिकाको प्रमुख पदमा नेकाका धनबहादुर गुरुङ एक हजार २५३ मतका साथ विजयी भएका छन् । उपप्रमुखमा माओवादी केन्द्रकी धनकुमारी गुरुङ एक हजार २८५ मतले विजयी भए । काँग्रेसले माओवादीका लाक्पा डुण्डुप लामा र माओवादीले काँग्रेसकी छेवाङ लामालाई उपप्रमुखमा पछि पारेको हो ।

धार्चेमा काँग्रेस

धार्चे गाउँपालिकामा काँग्रेसका सन्तबहादुर गुरुङ (सन्तोष) एक हजार ७०९ मतका साथ विजयी भएका छन् । उपप्रमुख पदमा काँग्रेसकी फूलमाया गुरुङ एक हजार ५९५ मतका साथ विजयी भइन । काँग्रेसले नयाँ शक्तिका लक्ष्मण गुरुङ र माओवादी केन्द्रकी आशा तमुलाई हराएको हो ।

अजिरकोटमा काँग्रेस

अजिरकोट गाउँपालिकामा काँग्रेसका फणिन्द्र धिताल तीन हजार ३३ मतका साथ विजयी भएका छन् । उपप्रमुखका काँग्रेसकै चन्द्रमाया गुरुङ तीन हजार ३३ मतले विजयी भइन । माओवादी केन्द्रका दीपक देवकोटा र अनिता भुजेललाई काँग्रेसले प्रमुख र उपप्रमुखमा हराएको हो ।

सिरानचोकमा काँग्रेस

सिरानचोक गाउँपालिकामा काँग्रेसका राजु गुरुङले तीन हजार ४०२ मत ल्याएर विजयी हासिल गरेका छन् । यस्तै, उपप्रमुखमा काँग्रेसकै रीता देवकोटाले तीन हजार ४११ मत ल्याइन। माओवादी केन्द्रका नवराज पुडासैनी र दीपा गुरुङलाई काँग्रेसले हराएको हो ।

गण्डकीमा काँग्रेस

गण्डकी गाउँपालिकामा काँग्रेसका होमबहादुर रानाले चार हजार १६४ मतका साथ विजय हासिल गरेका छन् । काँग्रेसकी ललिता अधिकारीले चार हजार ९७ मतले उपप्रमुखमा विजय हासिल गरे । प्रमुख र उपप्रमुखमा माओवादी केन्द्रका दीपक तिमिल्सिना र पूर्णा थापालाई काँग्रेसले हराएको हो ।

सहिद लखनमा माओवादी

सहिद लखन गाउँपालिकामा माओवादी केन्द्रका रमेश थापाले तीन हजार ८०८ मत ल्याएर प्रमुख पदमा विजयी भएका छन् । उपप्रमुख पदमा माओवादीकै इन्दिरा तिवारी तीन हजार ७९८ मतका साथ विजयी भए । काँग्रेसका कृष्ण आले र शर्मिला श्रेष्ठलाई माओवादीले हराएको हो ।

सुलिकोटमा माओवादी

गोरखाको सुलिकोट गाउँपालिकामा माओवादी केन्द्रका विष्णु भट्ट चार हजार ६५९ मतका साथ प्रमुख पदमा विजयी भएका छन् । उपप्रमुख पदमा माओवादी केन्द्रकै सनमाया गुरुङ चार हजार ५०१ मतले बिजयी भइन । काँग्रेसका इन्द्र गुरुङ र जनककुमारी कोइरालालाई माओवादीले हराएको हो ।

मतगणनाको अन्तिम परिणाम घोषणा भएपछि एघारवटै स्थानीय तहमा दलले विजय र्याली निकालेका छन् । करिब २० वर्षपछि निर्वाचित जनप्रतिनिधि पाएको खुसियालीमा गोरखा नगरवासीले प्रमुख पन्त र उपप्रमुख श्रेष्ठलाई बाजागाजासहित नगर परिक्रमा गरेका थिए । निर्वाचन जितेकाहरु अधिकांश हालै जागिर छाडेर राजनीतिमा प्रवेश गरेकाहरु छन् । रासस