२९ कात्तिक, काठमाडौं ।
कुनै बेला समान हैसियतमा रहेर काम गरेका नयाँ शक्तिका संयोजक भट्टराई र माओवादी नेता नारायणकाजी श्रेष्ठ अहिले एउटै चुनावी मैदानको मोर्चामा छन् । भट्टराई र श्रेष्ठ गोरखा–२ बाट उम्मेदवार बनेका छन् । प्रदेश नं. ४ भित्रको गोरखा–२ अहिले भट्टराई र श्रेष्ठकै कारण चर्चामा छ । भट्टराई कांग्रेसको साथ लिएर चुनावी मैदानमा होमिएका छन् भने श्रेष्ठ एमालेसँगको गठबन्धनबाट उभिएका छन् । माओवादीमा रहँदा यी दुवै नेता पार्टीको शीर्ष तहमा थिए । माओवादीमै छँदा भट्टराईले प्रधानमन्त्रीको पद सम्हाल्ने मौका पाएका थिए भने श्रेष्ठ माओवादी सरकारमा उपप्रधानमन्त्रीसम्म बन्न भ्याएका थिए।

माओवादी छाडेर नयाँ शक्ति खोलेका भट्टराई आफ्ना समकक्षीसँगै मैदानमा छन् । पहिलो संविधानसभा निर्वाचनमा देशभरबाट सर्वाधिक मत ल्याएर भट्टराईले गोरखामै जित हासिल गरेका थिए । संविधानसभा निर्वाचनसम्म ३ क्षेत्र रहेको गोरखा अहिले २ वटामा खुम्चिएको छ । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा भट्टराईले गोरखा–२ बाट सर्वाधिक मत ल्याएका थिए । २०७० मा उनी गोरखा–१ बाट विजयी भएका थिए । संविधानसभा निर्वाचनमा २ नम्बर क्षेत्र पर्ने सबै भूभाग अहिले पनि २ नम्बरभित्रै पर्छ । त्यसबाहेक १ नम्बरको केही भूगोल पनि २ मा मिसिएको छ । ३ नम्बरका अधिकांश क्षेत्र अहिले गोरखा–१ मा गाभिएका छन्। आजको नागरिकमा खबर छ ।

कुनै बेलाका सहयात्रीसमेत रहेका दुवै हेभीवेट नेता एकै क्षेत्रमा प्रतिस्पर्धा गर्दा धेरैको चासो गोरखा–२ मा देखिएको छ । हेभीवेट नेताकै कारण केही दिनअघि पोखरामा भएको प्रदेशस्तरीय सुरक्षा भेलामा प्रदेशभित्रको अति संवेदनशील जिल्लाका रुपमा गोरखालाई लिइएको थियो । गोरखाका विश्लेषक स्थानेश्वर दुवाडी हेभीवेट नेताको भिडन्त भए पनि दुवैजना उम्मेदवारको मतदाताबीच एकपटक परीक्षण भइसकेको बताउँछन् । दुवै नेता संसद्मा रहेर काम गरेकाले जनताले उनीहरुको क्षमता परीक्षण गरिसकेको दुवाडी बताउँछन् । ‘संसद्मा दुवैजना परीक्षण भइसकेका नेता हुन् । नयाँ मान्छे अगाडि आएको भए केही गर्छन् कि भन्ने आश हुन्थ्यो । नयाँ जोस भएका उम्मेदवार कतै भएनन्,’ उनले भने, ‘उनै परम्परागत नेता मतदाताले पाएका छन् । उनीहरुबाट जनताले आश नगरे पनि मत दिन बाध्य छन् ।’ दुईमध्ये एक संसद्मा जान नसक्ने पक्का भए पनि उनीहरुको पार्टीभित्र पदीय हैसियत उच्च रहेकाले राजनीतिमा हावी हुन सक्ने आधार रहेको उनी बताउँछन्।

‘दुवैजनाबीच कडा प्रतिस्पर्धा छ । भट्टराई अलि अगाडि बढेको देखिन्छ,’ उनले भने, ‘जहाँजहाँ भट्टराई पुगेका छन्, ती ठाउँमा उनको चर्चा बढी छ । मतदाताले उनलाई चासोपूर्वक हेरेका छन् । कांग्रेसको बलियो साथले पनि बाबुरामलाई राहत मिल्ने देखिन्छ ।’ उनको विश्लेषणमा दुवैजनाको घर गोरखा–२ मा परे पनि पालुङटार नगरपालिका क्षेत्रका मतदाताले निर्वाचन परिणाममा प्रभाव पार्ने देखिन्छ । पालुङटार क्षेत्र भट्टराईको पक्षमा छ । त्यसले पनि भट्टराई बलियो देखिएको उनले बताए । ‘गोरखा–२ को परिणाममा पालुङटारले महŒवपूर्ण हिस्सा लिन्छ । सर्वसाधारणको भेटघाट र कांग्रेसको बलियो समर्थनले बाबुराम बलिया देखिएका छन्,’ उनले भने, ‘तर निर्वाचन हो, यसै भन्न सकिन्न ।

वाम गठबन्धनले नयाँ रणनीति अपनायो भने पनि बाबुराम कमजोर साबित हुन सक्छन् । तर गोरखा–२ प्रदेशभित्रकै सबैभन्दा बढी प्रतिस्पर्धा हुने क्षेत्रको रुपमा छ ।’ भट्टराईले छाडेपछि माओवादीलाई गोरखामा स्थानीय तह निर्वाचनमा ठूलो धक्का लागेको थियो । संविधानसभाको पहिलो र दोस्रो निर्वाचनमा भट्टराईको साथ रहँदा तीनवटै क्षेत्र एक्लै जितेको माओवादीले स्थानीय तह निर्वाचनमा ११ मध्ये दुईवटा तहमात्रै जित्यो । भट्टराई साथ नहुँदाको फाइदा कांग्रेसलाई मिल्यो र उसले ९ स्थानीय तहमा जित हासिल गर्‍यो।