१४ वैशाख, बाग्लुङ ।
बडीगाड गाउँपालिका–५ का ३३ वर्षीय श्याम रेश्मी हतियारसहित पक्राउ परेका छन् ।

बुधबार साँझ ढोरपाटन नगरपालिका–१ स्थित एक होटलमा गोली चलाएर फरार भएका रेश्मीलाई प्रहरीले पेस्तोल, दुई थान म्याग्जिन र ११ थान गोलीसहित पक्राउ गरेको हो ।

रेश्मीलाई बुर्तिबाङ बजारदेखि डेढ किलोमिटर टाढा खप्तरीबाङ भन्ने ठाउँबाट बुधबारै साँझ नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

बुर्तिबाङ बसपार्कमा रहेको न्यू बुटवल थकाली भान्छाघरभित्र पसी गोली चलाएर भाग्दै गरेको अवस्थामा उनी पक्राउ परेका हुन् । रेश्मीले चलाएको गोलीबाट होटलको भित्तामा प्वाल परे पनि कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अनिल खड्काले बताए ।

रेश्मीलाई अहिले इलाका प्रहरी कार्यालयमा थप अनुसन्धानका लागि नियन्त्रणमा राखिएको छ । रासस