२४ असोज, भक्तपुर ।

नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रामशरण देउजाले महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्नलाई सरकारले तत्काल पक्राउ गरी सार्वजनिक नगरे आन्दोलनको घोषणा गर्ने चेतावनी दिएका छन ।

रफत सञ्चार क्लब भक्तपुरमा मंगलबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै महासचिव देउजाले भोली साँझसम्म सरकारले आफ्ना मागहरु पुरा नगरेको अबस्थामा महासंघले देशभर आन्दोलन गर्ने र विकास निर्माण लगायतका कामहरु ठप्प पार्ने बताए ।

अध्यक्ष गौचनको हत्यासँगै महासंघका अन्य पदाधिकारीलाई पनि अज्ञात नम्बरबाट धम्कीपूर्ण शैलीमा पैंसा माग्दै टेलिफोनहरु आईरहेको कारण महासंघका अन्य पदाधिकारीहरु पनि असुरक्षित रहेको उनले बताए ।

उहाले सरकारले महासंघका अन्य पदाधिकारीको सुरक्षा प्रबन्ध सहित अध्यक्ष गौचनको हत्यामा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउन आग्रह गरे । हत्यामा संलग्न पक्राउ नभएसम्म टिचिङ अस्पतालमा पोष्टमार्टमका लागी राखिएको अध्यक्ष गौचनको शव नबुझने समते चेतावनी उनले दिए ।