२४ असोज, काठमाडौं ।
प्रहरीले निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याको घटनाबारे अनुसन्धान गर्न दुईवटा समिति गठन गरेको छ ।

प्रहरी प्रधान कार्यालय र महानगरीय प्रहरी परिसरले छुट्टाछुट्टै रुपमा समिति गठन गरेका हुन् । दुवै समितिले सोमबारबाटै अनुसन्धानको काम अघि बढाएको प्रहरीले जानकारी दिएको छ ।

महानगरीय प्रहरीले अपराध महाशाखा प्रमुख एसएसपी दिवेश लोहनीको कमाण्डमा समिति गठन गरेको हो । यस्तै, प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी शेरबहादुर बस्नेत र महाशाखाका डिएसपी अजय केसीसहितको अर्को समिति गठन गरेको छ ।

दुवै समिति पाँच पाँच सदस्यीय रहेका छन् । गौचनको सोमबार अपरान्ह नयाँ बानेश्वरको खरीबोटस्थित प्रयाग चोकमा गोली हानी हत्या गरिएको थियो ।