२५ असोज, काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले सोमबार नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यापछि ३ जना हतियारसहित पक्राउ परेको दाबी गरेका थिए । उनले गौचनको हत्यामा संलग्नलाई चाँडै सार्वजनिक गर्ने दाबी पनि गरेका थिए ।

अनामनगरस्थित महासंघको कार्यालय जान सोमबार दिउँसो घरबाट हिँडेका गौचनलाई २ः ४५ बजे मध्यबानेश्वर खरीबोटमा सुटरले गाडिभित्रै गोली हानेर हत्या गरेका थिए । घटनाको करिब एक घन्टापछि मनमैजुमा एउटा पेस्तोल र तीन राउन्ड गोलीसहित तीनजना पक्राउ परेको सूचना सार्वजनिक भएको थियो । छिरिङ तामाङ, सञ्जय तामाङ र दिलीप लामा घटनाको १५ मिनेटपछि पक्राउ परेको दाबी प्रहरीको थियो । आजको नागरिकमा खबर छ ।

गृहमन्त्रीको दाबीको आधार पनि घटना भएको समय र प्रहरीले दाबी गरेको पक्राउको समय नै थियो । विश्वस्त स्रोतका काभ्रेका ती तीनजनालाई गौचनको हत्याको आधा घन्टाअघि महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेका थियो । उनीहरूलाई महाशाखाबाट डिएसपीको कमान्डमा खटिएको टोलीले पक्राउ गरेको थियो ।

घाइते गौचनको गोली लागेर मृत्यु भएपछि निर्माण व्यवसायी आक्रोशित भएका थिए । उनीहरूले घटनामा संलग्नलाई पक्राउ नगरिएसम्म गौचनको शबसमेत नउठाउने चेतावनी दिएपछि तीनजना पक्राउको समय अदलबदल गर्दै हतियारसहित पक्राउ परेको सूचना सार्वजनिक भएको थियो ।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी रवीन्द्र धानुकले महाशाखा र परिसरको टोलीले सोमबार हतियारसहित तीनजना पक्राउको पुष्टि गरे पनि यकिन समय बताउन चाहेनन् । पक्राउ समयबारे जिज्ञासा राख्दा उनले भने, ‘गौचन हत्याको आसपास नै हो । समय यकिन भएन ।’

१२ घन्टामै फेरियो अनुसन्धान समिति
प्रहरी प्रधान कार्यालयले सोमबार बेलुका गौचन हत्याको अनुसन्धान गर्न विशेष ब्युरोका एसएसपी शेरबहादुर बस्नेतको नेतृत्वमा गठन गरेको अनुसन्धान समितिले काम सुरु नगर्दै अदलबदल गरेको छ ।

प्रहरी महानिरीक्षक प्रकाश अर्यालको निर्देशनमा बस्नेतको नेतृत्वमा २ डिएसपी र एक प्रहरी निरीक्षक रहेको समिति गठन भएको थियो । मंगलबार प्रधान कार्यालयले डिआइजी गणेश केसीको नेतृत्वमा अर्को समिति गठन गरेको छ ।

सोमबार गठित समितिमा डिएसपी अजय केसी, अंगुर जिसी र प्रहरी निरीक्षक दीपेन्द्र अधिकारी थिए । मंगलबार समितिमा अपराध महाशाखा प्रमुख दिवेश लोहनी र डिएसपी सोमेन्द्र राठौर थपिएका छन् ।

अनुसन्धानको केन्द्रमा मनोज पुन
एक वर्षअघि रुपन्देहीमा दुर्गा तिवारीको हत्यामा अपनाइएको शैली र सोमबार काठमाडौं भएको गौचनको हत्या प्रकृति एकै किसिमको देखिएको प्रहरीको दाबी छ । यसै कारण प्रहरीले गौचन हत्याका योजनाकार मनोज पुन हुनसक्ने भन्दै उनैमाथि अनुसन्धान केन्द्रित गरेको छ । तिवारी हत्यामा पुनको समूह संलग्न भएको पाइएको थियो ।

तिवारीको हत्यापछि पुन नेपालमा छैनन् । भागेर भारत पुगेका उनी पछिल्लो समय तेस्रो देस पुगेको अनुसन्धानस्रोतले बतायो ।

तिवारीको हत्यापछि उनले भैरहवा क्षेत्रका व्यवसायीलाई फोनमार्फत धम्क्याएर रकम असुली गरेको र गत वैशाखमा काठमाडौंमा अर्का गुन्डा दावा लामामाथि भएको गोली प्रहारको घटनामासमेत सोही समूह नै संलग्न रहेको प्रहरीको निष्कर्ष छ ।

‘तिवारीको हत्याको उद्देश्य रुपन्देही क्षेत्रमा आतंक मच्याएर पैसा असुली गर्नु थियो, त्यसमा उनी सफल देखिए,’ अनुसन्धानमा संलग्न स्रोतले भन्यो, ‘काठमाडौंमा दावामाथि आक्रमण गरेपछि कहलिएका केही गुन्डाले ज्यान जोगाउन पुनलाई पैसा बुझाएको सूचना आएको छ, त्यो पाटोको समेत अनुसन्धान भइरहेको छ ।’

ठेक्कापट्टामा लामो समयदेखि संलग्न गौचन महासंघको विभिन्न पद हुँदै अध्यक्ष भएका थिए । गौचनको कार्यकालमा निर्माण क्षेत्रमा गुन्डा समूहको प्रभाव बढेको निष्कर्ष निकाल्दै प्रहरीले उनको हत्यालाई ठेक्कापट्टाको विषयसँग समेत जोडेको अनुसन्धान सम्बद्ध स्रोतले बतायो ।

हत्याको उद्देश्य पैसा असुली
अनुसन्धान स्रोतका अनुसार गौचन हत्याको प्रकृति र प्रारम्भिक अनुसन्धानबाट घटनाको उद्देश्य धम्क्याएर पैसा असुल्ने देखिएको छ । आफ्ना माग पूरा नगरे जुनसुकै समय जुनसुकै स्थानमा पनि हत्या गर्न सक्षम रहेको भन्दै त्रास फैलाउन गौचनको हत्या गरिएको प्रहरी निष्कर्ष छ ।

गौचनको हत्यापछि निर्माण क्षेत्रमा सक्रिय अन् व्यवसायीलाई फोनमार्फत धम्की आउनेक्रम बढेकाले समेत अपराधीले व्यक्तिगत रिसइबीभन्दा रकम असुलीलाई प्राथमिकता दिएको प्रहरी बुझाइ छ ।

काठमाडौं प्रहरी परिसरका प्रमुख धानुकले सोमबार काठमाडौंमा रहेका आङछिरिङ शेर्पा र रुपन्देहीका सुजु मल्ल र पदम ढुंगानालाई समेत धम्कीपूर्ण फोन आएको जानकारी दिएका थिए ।

युवा संघ नेपाल रुपन्देहीका इन्चार्जसमेत रहेका मल्लले आफूलाई कसैबाट धम्की नआएको बताएका छन् । शेर्पाले भने सोमबार निजामती अस्पताल परिसरमै आफूलाई नम्बर नखुलेको कलबाट धम्क्याइएको बताएका थिए ।