१९ भदौ, दार्चुला । शैल्यशिशर नगरपालिका–१ बलाचमा निर्माणधीन चमेलिया जलविद्युत् परियोजनाका लागि बलाच–अत्तरिया १३२ केभी प्रशारण लाइनको परीक्षण आइतबारदेखि शुरु गरिएको छ ।

बलाच–अत्तरिया १३२ केभीको प्रशारण लाइन र सवस्टेशनको परीक्षण गर्न लागिएको हो । जडान गरिएका उपकरण, १३१ किलोमिटर प्रशारण लाइन, दार्चुलाको बलाचमा रहेको मुख्य र सवस्टेशनलगायत आयोजनाका उपकरणको परीक्षण सुरु भएको आयोजना प्रमुख अजयकुमार दाहालले जानकारी दिए ।

प्रशारण लाइनको परीक्षण सुरु गर्न प्राधिकरण, कोरियाली ठेकेदार तथा परामर्शदाता, इन्जिनियरलगायत प्राविधिकको टोलीले अत्तरियाबाट परीक्षण शुरु गरेको आयोजनाले जनाएको छ । १३१ किलोमिटर प्रशारण लाइन र सवस्टेशन, विभिन्न उपकरणको परीक्षण कार्य १५ दिनसम्म गरिनेछ ।

सुरुमा रु आठ अर्ब ५० करोड लगानीमा सम्पन्न गर्ने भनिएको ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाको काम सम्पन्न भइसक्दासम्म रु १५ अर्ब ६० करोड लाग्ने अनुमान छ । हालसम्म आयोजनाको करिब रु १४ अर्ब ५० करोड खर्च भइसकेको छ ।