२६ कात्तिक, काठमाडौं ।

बैतडीमा एघार बर्ष अघिदेखि निर्माणाधिन चमेलिया जल विद्युत आयोजनाले पुसको दोस्रो साता भित्र विद्युत उत्पादन थाल्ने भएको छ । तीन सातादेखि परिक्षण उत्पादन गर्दै आएको ३० मेघावाट क्षमताको विद्युत आयोजनाको विद्युत पुस दोस्रो सातासम्म केन्द्रिय प्रशारण लाईनमा जोडने तयारी छ ।

चार किलोमिटर लामो सुरुङ, १ सय ३१ किलोमिटर प्रशारण लाईन तथा बिद्युत गृहमा सबै उपकरण जोडिएपछि चलेलिया जलबिद्युत आयोजना बिजुली बाल्न ठिक्क अवस्थामा पुगेको छ । २०६३ पुष देखि सुरु भएको आयोजना २०६८ मंसिरमा सम्पन्न गर्नुपर्ने भएपनि चार पटक म्याद थपेर २०१७ डिसेम्बर अथवा आउँदो पुष १५ भित्र सम्पन्न हुन लागेको हो ।

११ बर्ष लामो प्रतिक्षापछि सम्पन्न हुन लागेको आयोजनाले सात नम्बर प्रदेशका ग्रामिण क्षेत्रमा विद्युत पुग्ने स्थानीयको विश्वास छ । विद्युतको परिक्षण उत्पादन शुरु भएपछि स्थानीय समेत खुसी देखिएका छन् । सुरुमा आठ अर्ब लागतमा निर्माण हुने भनिएको आयोजना बिभिन्न कारणले चार चोटी म्याद थपिएर हालसम्म आइपुग्दा लागत बढेर १५ अर्ब रुपैया पुगेको छ । आठ सय ४३ मिटर सुरुङ खुम्चिनु, संसदीय छानबिन लगायत बन्द हडतालले गर्दा आयोजना ढिलो भएको हो ।

आयोजना सुख्खायाममा समेत पूर्ण क्षमतामा सञ्चालन हुने बताइएको छ । बैतडी र दार्चुलाको सिमाना भएर बग्ने चमेलिया नदीमा निर्माण भएको यो आयोजनाले कैलालीको अत्तरियासम्म एक सय ३२ केभीको एक सय ३१ किलोमिटर लामो प्रशारण लाईन समेत निर्माण गरिसकेको छ । प्रशारण लाइनले चमेलिया आसपासमा निजी लगानीमा निर्माण भइरहेका करीब दुई सय मेगावाटका अन्य आयोजनाहरुले समेत पिपिए गरिसकेका छन् । चमेलिया जलविद्युत निर्माणका क्रममा ४८ मिटर बाँध बाँधेर दुई किलोमिटर लामो ताल बन्ने भएको छ । आयोजना निर्माणपछि यसले बार्षिक १८ करोड ४२ लाख युनिट बिद्युत उत्पादन गर्दै करिब एक अर्ब १० करोड जति आम्दानी गर्नेेछ ।