१५ चैत, काठमाडौं ।

स्थानीय तहको निर्वाचन नजिकिदैँ जाँदा नयाँ दल खुल्ने क्रम पनि जारी नै छ । चुनाव हुने दिन बैशाख ३१ आउने डेढ महिना बाँकी रहेको अवस्थामा भोली दुई नयाँ पार्टी जन्मने भएका छन् ।

हिजोमात्र बाबुराम भट्टराई संयोजकत्वको नयाँ शक्ति पार्टी नेपालबाट निस्कासित निर्मल भट्टराई र कमल थापा नेतृत्वको राप्रपाबाट राजिनामा दिएका डा. प्रकाशचन्द्र लोहनीले छुट्टा छुट्टै पार्टी गठन गर्न लागेका हुन् ।

यो पढ्नुस् : ९ महिनामै फुट्यो बाबुरामको नयाँ शक्ति पार्टी

डा. लोहनीको नेतृत्वमा भोलि नयाँ पार्टी घोषणा हुने भएको छ । लोहनीको नेतृत्वमा भोलि एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी निर्वाचन आयोगमा दर्ता गर्न लागिएको हो ।

१२ बजे भित्र आयोगमा दल दर्ता गरी दिउँसो एक बजे पत्रकार सम्मेलन गरी पार्टीको घोषणा गरिने प्रचार प्रसार विभागका संयोजक महेश्वर रोकाले जानकारी दिए ।

पार्टीमा वरिष्ठ नेता केशरबहादुर बिष्ट र वरिष्ठ उपाध्यक्षमा गणेश शेरचन रहेको रोकाले जानकारी दिए । अधिकांश नयाँ अनुहार ल्याएर लोहनीले पार्टी चलाउने तयारी गरेका हुन् ।

राप्रपा र राप्रपा नेपालको एकतापछि चुनाव चिन्ह हलो राख्नु पर्ने अडानमा रहेका लोहनीले चुनाव चिन्ह, अध्यक्ष कमल थापाको कार्यशैली लगायत थुप्रै विषयमा असहमति जनाउँदै फागुन ३० गते राप्रपा छोडेका थिए ।

केशरबहादुर बिष्टले पनि कमल थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टी छोडेका हुन् ।

यस्तै नयाँ शक्ति पार्टी नेपालले निस्कासन गरेका निर्मल भट्टराईको संयोजकत्वमा पनि भोली नै नयाँ पार्टी गठन हुने भएको छ ।

भोली राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरी एक सय एक सदस्सीय केन्द्रीय समिति गठन गरिने भट्टराईले जानकारी दिए । पार्टीको नाम ‘नयाँ शक्ति नेपाल’ राखिने उनको भनाई छ ।