१३ कात्तिक, दक्षिण कोरिया।

दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा परी एक जना नेपालीको ज्यान गएको छ । ख्वङजुको उन्सङ थेसोस्थित थर्मल इन्सुलेशन कम्पनीमा कार्यरत रुपन्देही मणिग्रामका अन्दाजी उन्चालीस वर्षिय नुभराज भुषालको चलिहरेको मेशिनको मोटरमा बेरिएर ज्यान गएको हो ।south-korea-nepali-accident-173232214

चलिरहेको मेशिन चेक गर्ने क्रममा आज बिहान दश बजेर पच्चिस मिनेटमा जाँदा भुषालको मोटरमा बेरिएर निधन भएको सोहि कम्पनीमा कार्यरत पोखराका देवेन्द्र पोखरेलले जानकारी दिएका छन् ।

मृतक भुषाल चार वर्ष दश महिना पुरा गरी पुनः सिबिटी मार्फत सो कम्पनीमा आएको पनि झण्डै साढे दुइ वर्ष पुरा भइसकेको पनि सहकर्मी पोखरेलले बताए । मृतक भुषालको मेकानिकल डिपार्ट अन्र्तगत मेशिन चेक गर्ने काम भएको र आज मेशिन चेक गर्ने क्रममा चलिरहेको मोटरमा बेरिन पुगेर दुःखद निधन हुन पुगेको पोखरेलले बताए ।

मृतक भुषालको शव अहिले खुवाङ थेसङ अस्पतालमा राखिएको छ । दुःखद दुर्घटना भएको उक्त कम्पनी सात जना नेपाली र अन्य विदेशी कामदार रहेका छन् । घटना पछि तत्कालै त्यस बारे राजधानी सोलस्थित नेपाली दुतावासमा जानकारी गराइएको छ ।

यद्यपी दुतावासले साप्ताहिक विदा भएकोले सोमबार मात्र घटनाका बारेमा जानकारी लिने र दुर्घटनास्थलमा आउन सकिने जानकारी दिएको पनि थर्मल इन्सुलेशन कम्पनीका कार्यरत नेपालीहरुले दिएका छन् ।

घटनाका बारेमा दुतावासका श्रम सहचारी देवराज ढकालसँग सम्पर्क गर्दा ढकालले घटनाका बारेमा मौखिक जानकारी आएको बताए । कोरियन प्रहरीको पत्र आइसकेपछि र सोमबार मात्र दुर्घटनास्थलमा पुगेर घटनाको विस्तृत जानकारी लगायत विवरण लिने काम हुने ढकालले बताए ।

उनले नेपालमा शव पठाउन मृतकका परिवारले परराष्ट्र मन्त्रालय मार्फत शव बुझ्ने आधिकारिक व्याक्तिको पत्र आइसकेपछि प्रक्रिया अगाडि बढ्ने जानकारी दिए । नेपालमा दोश्रो ठुलो चाड तिहार परेकोले शव पठाउने प्रक्रिया केहि ढिलाई हुन सक्ने ढकालले बताए ।

यसैबीच औद्योगिक दुर्घटनामा ज्यान गुमाएका मृतक भुषाल विवाहित रहेको र नेपालमा श्रीमती, दुइ छोरीहरुका साथ परिवार रहेको बुझिएको छ ।