काठमाडौं, ३१ बैशाख । चार जिल्ला क्रिकेट सङ्घले आगामी जेठको तेस्रो साताभित्र नयाँ नेतृत्वका लागि निर्वाचन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले गठन गरेको स्वतन्त्र कमिटीको निर्णय अनुसार चारै जिल्लाले साधारणसभा गर्ने भएका छन् ।

निर्वाचन गराउने जिल्लामा चितवन, महोत्तरी, सप्तरी र दाङ छन् । चितवनले अगामी जेठ ४, महोत्तरीले जेठ ११, सप्तरीले जेठ १५ र दाङले जेठ १८ गते साधारणसभा बोलाएको नेपाली राष्ट्रिय क्रिकेट टोलीका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए। नयाँ विधानअनुसार निर्वाचन गराउने जिम्मेवारी पाएको स्वतन्त्र कमिटीले २० जिल्ला कमिटीको निर्वाचनलाई बैधता दिँदै अन्य १९ जिल्लामा भने निर्वाचन गराउने निर्णय गरेको थियो । सहमतिअनुसार कमिटीले १२ जिल्लामा नयाँ विधानअनुसार सदस्य थप गरेर र अन्य सात जिल्लामा पुरानै सदस्यता अनुसार निर्वाचन गराउने निर्णय गरेको थियो ।

कमिटीले नयाँ सदस्यतासहित निर्वाचन गराउन पर्सा, मकवानपुर, उदयपुर, तनहुँ, भक्तपुर, ललितपुर, नुवाकोट, इलाम, स्याङजा, झापा, दार्चुला र डोटीलाई पत्र पठाएको छ । यस्तै महोत्तरी, काठमाडौँ, चितवन, मोरङ, कैलाली, सप्तरी र दाङमा पुरानै सदस्यता अनुसार निर्वाचन गराउन भनिएको छ । कमिटीले पुरानै निर्वाचनलाई मान्यता दिएका जिल्लामा सर्लाही, बारा, धनुषा, सिरहा, रौतहट, सुनसरी, नवलपुर, कास्की, पाल्पा, नवलपरासी, कपिलवस्तु, बर्दिया, बाँके, सुर्खेत, रुपन्देही, कञ्चनपुर, डडेलधुरा, बझाङ, आछाम र बैतडी छन् ।

नयाँ सदस्यतासहित निर्वाचन गराउने जिम्मेवारी पाएका जिल्ला सङ्घले पत्र प्राप्त भएको ७ दिनभित्र सदस्य लिन चाहने क्लब र व्यक्तिलाई निवेदनका लागि सूचना प्रकाशित गर्नुपर्नेछ । उनीहरुले १५ दिनको समय राखेर निवेदन उपर छानविन गरी सदस्यताको विषयमा निर्णय गर्नेछन् । नयाँ सदस्यता वितरण भएलगत्तै स्वतन्त्र कमिटीले साधारणसभा बोलाउने अधिकारसहितको पत्र जिल्ला सङ्घलाई पुनः पठाउनेछ । पुरानै सदस्यता अनुसार निर्वाचन गर्ने जिल्लाले पत्र प्राप्त भएको ७ दिनभित्र १५ दिनको समयसीमा राखेर साधारणसभा आह्वान गर्नुपर्नेछ । सोही सभाले केन्द्रीय र प्रदेशका लागि प्रतिनिधि चयन गर्नेछ ।