२८ असार, पाल्पा ।

पाल्पाको तिनाउ खोलामा बेपत्ता भएका चार यात्रु चार दिन विती सक्दा पनि अझै फेला परेका छैनन् । पाल्पाको माथागढी गाउँपालिका–३ र तानसेन नगरपालिका ९ स्थित अमलेनमा पुलबाट आइतबार लु १ ज एक सात एक दुई नम्बरको जिपसहित चार यात्रुलाई बाढीले बगाउँदा दुई महिला र दुई पुरुष बेपत्ता भएका थिए ।

वर्षाका कारण खोलामा पानीको बेग बढेकाले बेपत्ताको खोजीकार्य सफल हुन नसकेको प्रहरीले जनाएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले तिनाउ खोलाको चरचरे, झुम्सा र अमलेनमा खोजीकार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय पाल्पाका नायब प्रहरी उपरीक्षक रमेश पण्डितले वताए ।

तानसेन नगरपालिकाको भुसलडाँडा बस्ने २६ वर्षीया उषा श्रेष्ठ, माथागढी गाउँपालिका–१ का २३ वर्षीय तिलविर गाहा, सोही स्थानका ४३ वर्षीया माया गाहा, बगनासकाली गाउँपालिकाका ४० वर्षीय पदमबहादुर कुवर मगर बाढीमा बगेका हुन । पाल्पाको माडी क्षेत्रमा वर्षेनी डुबानको समस्या हुने गरेको छ ।