एजेन्सी । बहराईन र कतारवीच नयाँ संकट उत्पन्न भएको छ । बहराईनले आफ्नो सरकारविरोधी षड्यन्त्रमा कतार संलग्न रहेको आरोप लगाएको छ । बहराईनको सरकारी टेलिभिजन च्यानलले सन् २०११ मा विरोधी विपक्षी गुटसँग मिलेर कतारले सरकारको शासन विरुद्धको षड्यन्त्रलाई अन्तिम परिणाम दिएको आरोप लगाएको छ ।

टेलिभिजनले कथित टेलिफोन रेकर्ड पनि सार्वजनीक गरेको छ जसमा भएको कुराकानीलाई कतारका तत्कालीन प्रधानमन्त्री हमाद बिन जासिम अल-थानी र बहराईनको विरोधी विपक्षी गुट अल वफान्कका नेता अली सलमानवीचको कुराकानी भनिएको छ ।

बहराईनमा आतंकवाद फैलाउने काम गरेको आरोप लाग्दै आएका अल वफाँकका नेता अली सलमानलाई आतंकवादसँग सम्बन्धित अपराधका लागि सजाय समेत सुनाईएको छ । उक्त टेलिफोन वार्तामा दुवैजनाले बहराईनविरुद्ध अस्थिरतालाई बढावा दिन सहमति जनाएको दाबी उक्त टेलिभिजनले गरेको छ ।

टेलिफोन वार्तालाई लिएर बहराईनको सरकारले अनुसन्धान समेत सुरु गरेको छ । बहराईन लगायत साउदी अरब, संयुक्त अरब ईमिरेट्स, ईजिप्टले गएको जूनमा कुटनीतिक सम्बन्ध तोडेपछि उत्पन्न समस्याका विच बहराईन र कतारवीच फेरी अर्को संकट देखिएको हो ।

देशहरुले कतारले ईरानको नजिक रहेको अतिवादी संगठनसँग साँठगाँठ गरेको आरोप लगाएका छन् तर कतारले यो आरोपको खण्डन गर्दै आएको छ ।