३१ वैशाख, काठमाडौं ।

स्थानीय तहको निर्वाचन भएपछि देशका मुख्य चारवटा महानगरपालिकाबाट को विजयी होला भन्ने विषय अब सर्वत्र चासोको विषय बन्न पुगेको छ ।

देशको केन्द्र रहेको काठमाडौं महानगरपालिका, प्रधानमन्त्री प्रचण्ड पुत्री रेणु दाहाल उठेको चितवनको भरतपुर महानगरपालिका, कास्कीको पोखरा महानगरपालिका र ललितपुर महानगरपालिकातर्फ सबैकोे ध्यान तानिएको हो ।

कहाँ कसले जित्ला ?

काठमाडौंमा कांग्रेसका राजूराज जोशी सबैभन्दा बढी प्रभावशाली देखिएका छन् । गत संविधानसभा निर्वाचनमा कांग्रसले जितेका अधिकांश निर्वाचन क्षेत्र रहेकोले पनि उनले जित्ने अनुमान छ । कांग्रेस उम्मेदवारलाई माओवादी केन्द्रले सघाएको बुझिएको छ ।
यता एमालेबाट विद्या सुन्दर शाक्यलाई प्रमुखमा राप्रपाले सहयोग गरेको छ । यसकारण एमालले पनि जित्ने आशा राखेको छ ।

सबैको ध्यान भरतपुरमा
भरतपुर महानगरमा प्रचण्डपुत्री उठेपछि निक्कै चर्चा चुलिएको छ । कांग्रेसँगको तालमेलमा उनी उठेपछि जित्ने अपेक्षा धेरैको छ । तर, पुरानो इगोको कारण उनलाई कांग्रेसले भोट नदिंदा एमालेका उम्मेदवार देवी ज्ञवालीले जित्ने आँकलन पनि उत्तिकै छ । जसरी पनि प्रचण्डपुत्रीलाई हराउनुपर्ने विषयले नतिजा के होला भन्न सकिन्न ।

ललितपुरमा के होला ?
ललितपुरमा संविधानसभा निर्वाचनमा कांग्रेसले जिल्ला पूरै जितेको थियो । यसपटक कांग्रेसबाट चिरिबाबु महर्जन मैदानमा छन् । तर, मेयर भइसकेका प्रेमलाल महर्जनले उम्मेदवारी दिएका कारण उनी पछि पर्न सक्ने बताइन्छ । यसमा एमालेका हरिकृष्ण व्यन्जनकारले फाइदा उठाउने पनि बताइन्छ । तर, माओवादीका दिनेश महर्जनले पनि बाजी मार्ने सम्भावना टरेको छैन ।

पोखरामा एमाले स्तब्ध होला ?
पोखरामा कांग्रेस र माओवादीले संयुक्त उम्मेदवारका रुपमा कांग्रेसका रामजी कुवँरलाई उठाएका छन् । यस्तोमा एमालेका मानबहादुर जिसी पछि पर्न सक्ने बताइएको छ । तर, एमाले पोखरामा जित्ने दाबी गर्दै आएको छ ।