१३ भदौ, दमौली ।

तनहूँको छाङ–५ मनोहरिमा आज चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा चार जना घाइते भएका छन् ।

ना५ख ४०१८ नम्बरको बसले रोकेर यात्रु ओराल्ने क्रममा पछाडिबाट आउँदै गरेको ग२च ८२० नम्बरको कार, ग१ख ४८५२ नम्बरको माइक्रोबस र ग१ख ४००५ नम्बरको बस ठोक्किँदा माइक्रोबसमा सवार चार यात्रु घाइते भएका हुन् ।

दुर्घटनामा परी कास्की लुम्लेका ४४ वर्षीय सुरेन्द्र गुरुङ, सोही ठाउँका ४५ वर्षीय शङ्करमान गुरुङ, बागलुङ खूम्पानी–१ की १९ वर्षीय सम्झना परियार र सोही ठाउँका कुमार शेर्पा घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

गम्भीर घाइते सुरेन्द्रलाई थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको र अन्य घाइतेको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

चारवटै सवारी साधनका चालकलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।