४ फागुन, दमौली । गत माघ २४ गते तनहुँको छाङ–८, गर्मलामा भएको बस दुर्घटनामा चालक र सहचालक दुवै दोषी भेटिएकाले उनीहरुउपर केही सार्वजनिक अपराधसम्बन्धी मुद्दा मङ्गलबार दर्ता गरिएको छ ।

ग १ ख ६२३० नंको बस उक्त कच्ची सडकबाट दुईसय मिटर तल खस्दा १४ जना यात्रु घाइते भएका थिए । घाइतेमध्ये दुई जनाको अझै मेट्रोसिटी अस्पताल पोखरामा उपचार भइरहेको छ भने अन्य उपचारपछि घर फर्केको जानकारी इलाका प्रहरी कार्यालय, भिमादका प्रहरी नायब निरीक्षक लालबहादुर क्षेत्रीले जानकारी दिए ।

उक्त बस सहचालकले चलाएका कारण दुर्घटनामा परेको भेटिएकाले उनीसहित चालकलाई समेत दोषी ठहर गरी उनीहरुउपर उक्त मुद्दा दर्ता गरिएको उनले बताए । रासस