१८ जेठ, काठमाडौं ।

नेकपा एमालेले चितवन घटनाका विषयमा निर्वाचन आयोगले आफूहरुको माग विपरित गर्ने कुनै पनि निर्णय मान्य नहुने बताएको छ । चितवनको भरतपुर महानगरपालिकाको रोकिएको मतगणनालाई पुनः शुरु गर्ने बाहेकको कुनै पनि निर्णय आफूहरुलाई मान्य नहुने एमालेको भनाई छ ।

नेपाली हेडलाइन्ससँग कुरा गर्दै एमाले संसदीय दलका मुख्य सचेतक भानुभक्त ढकालले भने, ‘हामीले हाम्रो माग विपरित आयोगले गर्ने कुनै पनि निर्णय नस्वीकार्ने पहिले नै भनिसकेका छौं ।’

मतपत्र च्यातिएपछि भरतपुरको १९ नम्बर वडामा रोकिएको मतगण तत्काल शुरु गर्नुपर्ने एमालेको माग छ भने कांग्रेस र माओवादीले मतपत्र च्यातिएकाले त्यस वडामा पुनः मतदान गर्नु पर्ने बताउँदै आएका छन् ।

घटनाको छानविन गर्न निर्वाचन आयोगले छानविन समिति गठन गरी समितिले प्रतिवेदन निर्वाचन आयोगलाई बुझाईसकेको छ भने च्यातिएका मतपत्रको एकिन तथ्यांक पेश गर्न आयोगले हिजो चितवनका मुख्य निर्वाचन अधिकृतलाई निर्देश्न दिएको छ ।

एमाले नेता ढकालले हार्ने संकेत देखिने वित्तिकै मतपत्र च्यात्ने हो भने लोकतन्त्रमा चुनाव मजाकको विषय हुनसक्ने भन्दै पुनः निर्वाचन कुनै पनि हालतमा स्वीकार्य हुन नसक्ने बताए । ‘मतगणना गर्न बाँकी नै छ, हामी हार्न पनि सक्छौं, त्यो हार स्वीकार्य छ तर त्यो बाहेक आयोगको अरु निर्णय हामी स्वीकार्न सक्दैनौं, ढकालले भने ।

पुनः मतदानको कल्पना पनि गरेका छैनौं : ज्ञवाली
नेकपा एमालेको तर्फबाट भरतपुर महानगर प्रमुखका उम्मेदवार देवी ज्ञवाली आफूहरुको माग विपरितको निर्णय आउला भनेर आफूहरुले कल्पना समेत नगरेको बताउँछन्,
कथंकदाचित आयोगले पुनः मतदानको निर्णय गर्यो भने तपाईहरु के गर्नुहुन्छ त ? भन्ने प्रश्नमा ज्ञवाली भन्छन्, ‘त्यो हाम्रो कल्पनाभन्दा बाहिरको विषय हो । त्यो विषयमा धेरै टिप्पणी गर्नु आवश्यक नै छैन ।’

एमालेको धम्की र आयोगको निरिहता

एमालेको यो अडानसँगै निर्वाचन आयोग भने दवावमा परेको छ । निर्वाचन आयोगका एक अधिकारीका अनुसार आयोगले यही दवावकै कारण पुनः मतदानको निर्णय गर्न सक्ने सम्भावना कमै छ । उनी भन्छन्, आयोग निरिह बन्न सक्ने देखिएको छ ।

तर एमाले अध्यक्ष केपी शर्मा ओली सहितका नेताले चितवन घटनालाई लिएर पुनःमतगणनाको माग गर्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराई सकेका छन् । संसदीय समितिदेखि संसदसम्म यो विषयले प्रवेश पाएको छ । जसका कारण संसद बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ ।

मुख्य निर्वाचत अधिकृतलाई धम्की

त्यति मात्र होइन, नेकपा एमालेले चितवनका मुख्य निर्वाचन अधिकृतलाई धम्कीसमेत दिन भ्याएको छ । एमाले महासचिव इश्वर पोख्रेलले मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेलाई चिनिराख्न र आवश्यक परेको बेलामा हिसाव किताव गर्नु पर्ने धम्कीपूर्ण अभिव्यक्ति दिए ।

एमालेले पुनः मतगणनाको काम शुरु नगर्ने सडकबाटै आफ्ना उम्मेदवार ज्ञवालीलाई सडकबाटै विजयी घोषित गर्ने सम्मको चेतावनी दियो । अनि चितवन घटनाले असार १४ गते हुने दोस्रो चरणको निर्वाचन समेत प्रभाविन हुन सक्ने उसको भनाई छ ।

एमालेका यी धम्की, चेतावनी र घुर्कीका बीच निर्वाचन आयोगले उसको विपक्षमा अर्थात पुनःमतदानको निर्णय गर्ला भन्ने सम्भावना कमै देखिन्न । आयोगले निर्णय नगर्दै उसका बारेमा धेरै टिप्पणी गर्नु छिटो हुन सक्छ । कुन आधारलाई टेकेर आयोगले के निर्णय गर्छ त्यो पछिको कुरा, पछि टिप्पणीको विषय हुन सक्छ ।

आयोगको निर्णय हामीलाई स्वीकार्यछः माओवादी

नेकपा माओवादी केन्द्रले भने निर्वाचन आयोगले गर्ने जुनसुकै निर्णय पनि आफूलाई स्वीकार्य हुने बताएको छ । माओवादी चितवनका जिल्ला इन्चार्ज इश्वरी भट्टराईले भने, निर्वाचन आयोगले नियम, कानून र विधि भित्र रहेर निर्णय गर्छ भन्नेमा हामी आशावादी छौं । त्यसरी गर्ने निर्णय हामीलाई स्वीकार्य छ ।

यो निर्वाचनको वर्ष हो । यो पछि पनि थुप्रै निर्वाचन गर्नु पर्नेछ । चितवन घटना एउटा गलत नजिर नबसोस् । त्यसैले कुनै एउटा अमुक दल रिसाउला वा विरोध गर्दा भनेर गलत नजिर बसाउन नहुने तर्फ आयोग सचेत हुन जरुरी छ ।