२ मंसिर, काठमाडौं ।

चिनियाँ प्रकाशन संस्था विश्व पुस्तक प्रकाशन लि कम्पनी, कोङ्चुले नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकलाई सहज गराउन ‘बोलीचालीको नेपाली’शीर्षक कृति नेपाली र चिनियाँ बजारमा ल्याएको छ ।

चीनस्थित हेनान विश्वविद्यालयका प्राध्यापक (दक्षिण एसियाली संस्कृति विभाग प्रमुख) डा वाङचुक सम्पादक रहेको सो पुस्तकमा चीनबाट नेपाल आउने हवाई र सडक मार्गको परिचय, नेपालमा आवश्यक दैनिक आवश्यकताका वस्तु, नेपाली भाषा, मिति र समय, यातायात सेवा व्यवस्था, काठमाडौँ, पोखरा, लुम्बिनी र जनकपुरका विभिन्न स्थान, अध्ययन, पुस्तकालय, नेपाली जनजीवन, संस्कार र संस्कृति, नेपाली पत्रकारसँगको भेटघाट, बिरामी हुँदा चिकित्सकसँग लिनुपर्ने परामर्श आदिबारेको जानकारी संवाद मार्फत प्रस्तुत गरिएको छ ।

Bolichaliko Nepali for chinese

तीस अध्यायको कृतिसँगै ध्वनिमा पनि भाषा सङ्कलन गरिएको सिडी पाउन सकिने छ । “पाँच वर्ष लगाएर चिनियाँ पर्यटकलाई नेपाल बसाइमा सहज हुने गरी तयार गरिएको पथप्रदर्शनसम्बन्धी र नेपाली जनजीवन बुझ्ने यो नै सम्भवतः पहिलो कृति हो” कृतिका सम्पादन सहयोगी पत्रकार तथा पथप्रदर्शक भरत शर्माले बताउनुभयो । कृतिमा नेपाली भाषाको अनुवाद चिनियाँ भाषामा गरी प्रस्तुत गरिएको छ । यसको पछिल्लो भाग पनि तयार गर्न सुरु गरिएको छ । यसअघि प्रा डा वाङचुक र शर्माले मिलेर ‘अनिवार्य नेपाली’, ‘नेपाल चीन रणनीतिक सम्बन्ध’, ‘चिनियाँ कथा’(नेपाली अनुवाद)को प्रकाशन गर्नाका साथै नेपाली जनजीवनसँग मेल खाने चिनियाँ शृङ्खलात्मक टेलिचलचित्र ‘कपुरको रूख’ प्रसारण गरिसकेका छन ।

कृतिलाई चिनियाँ सरकारले पर्यटन पाठ्यक्रममा राख्नका लागि पहल गर्नाका साथै चिनियाँ पर्यटन बोर्डले पनि नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकलाई सन्दर्भ सामग्रीका रुपमा वितरण गर्ने सम्पादक डा वाङचुकले जानकारी दिए । कृतिको मूल्य चिनियाँ मुद्रा ४५ युआन रहेको छ । रासस