८ असार, काठमाडौं ।

‘चिनियाँ अमुर्त सांस्कृतिक सम्पदा सप्ताह’ काठमाडौंमा शुरु भएको छ । सांस्कृतिक सप्ताहमा चिनियाँ कलाकारहरुले परम्परागत चिनियाँ कला प्रदर्शन गर्नेछन् । सप्ताह उद्घाटन गर्दै नेपालका लागि चिनियाँ राजदुत यू होङले भूकम्पले भत्काएका नेपालका सम्पदा पुनः निर्माणमा चीनले सघाउने प्रतिबद्धता ब्यक्त गरे ।

विहीबार काठमाडौंको लैनचौर ब्याङ्केटमा शुरु भएको ‘चाइना इन्टान्जिवल कल्चरल हेरिटेज विक’ नाम दिइएको चिनियाँ सांस्कृतिक सप्ताहमा चीनको तियान्जिन नगरबाट आएका कलाकारहरुले बनाएका चिनियाँ परम्परागत कला प्रदर्शनीमा राखिएको छ ।

सप्ताह उद्घाटन समारोहमा चाइना कल्चर सेन्टरका निर्देशक यिन कुन्सोङले चीनको कलाले विश्व सम्पदामा गरिरहेको योगदानबारे जानकारी गराउन सप्ताह आयोजना गरिएको बताए ।

त्यस्तै कार्यक्रममा नेपालका लागि चिनियाँ राजदुत यू होङले चिनियाँ नेपालमा भूकम्पले भत्किएका सम्पदा पुनः निर्माणमा चीनले सघाउने प्रतिबद्धता ब्यक्त गरिन् ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले नेपालका सम्पदा निर्माणमा चिनले दिएको सहयोगप्रति कृतज्ञता ब्यक्त गरे ।

तीन भागमा विभाजन गरिएको सांस्कृतिक सप्ताहमा तियान्जिन अमुर्त सांस्कृतिक सम्पदा प्रदर्शनी, तियान्जिन सांस्कृतिक तथा नवीन उत्पादन प्रदर्शनी, चिनियाँ चङ्गा बनाउने तथा उडाउने कला लगायतका गतिविधि हुने जानकारी निर्देशक यीनले दिए । चिनियाँ सांस्कृतिक सम्पदा प्रदर्शनीले चीन र नेपालबीच सम्झदारी र मित्रता सम्रवर्द्धन गर्ने उनको विश्वास छ ।