यदि तपाईँलाई चिया बढि मन पर्छ कि कफी भनेर सोध्यो भने, सायद तपाईँ दुविधामा पर्नुहुन्छ। आजकल ब्रिटेनमा यहि कुरामा बहस चलिरहेको छ- चिया राम्रो कि कफी?

पछिल्लो शताब्दीमा ब्रिटिसका एक लेखक ‘जर्ज अरवेल’ले चियालाई आफ्नो देशको सभ्यतासँग जोडेका थिए। तर, आजभोली ब्रिटेनको राष्ट्रिय ड्रिङ्क चियालाई क्यापुचिनो, लाते, एसप्रेसो तथा अमेरिकानो कफीले चुनौती दिइरहेको छ।Tea or Coffee (1)

चिया मनपराउने धेरै छन्, तर कफी मनपराउनेको सङ्ख्या पनि कमी छैन। त्यसैले आजको अङ्कमा हामी तपाईँहरूलाई स्वास्थ्यको क्षेत्रमा चिया र कफीले कस्तो प्रभाव पर्दछ भन्ने बारे जानकारी दिन गैरहेका छौँ।

याद रहोस् कि हाम्रो ध्यान स्वादमा हुनेछैन, बरु विज्ञानको आधारमा चिया र कफीको शरीर र दिमागमा पर्ने प्रभावमा हुनेछ।

निन्द्राबाट बिउँझाउने

अधिकांश मानिसहरूले निन्द्राको असरलाई हटाउन र दिनमा आउने चुनौतीको लागि एलर्ट हुन चिया वा कफी पिउने गर्छन्। दिनमा पनि यदि काम गर्ने फूर्ती चाहिएको छ भने आफूलाई मन पर्ने किसिमको चिया वा कफी बनाएर खाने गरिन्छ। चिया र कफी दुवैमा पाइने क्याफिनले यस्तो कामको लागि मद्दत गर्दछ।

एक कप चियामा सामान्यतयाः ४० मिलिग्राम क्याफिन हुन्छ भने उत्तिकै मात्राको कफीमा ८० देखि ११५ मिलिग्राम क्याफिन हुन्छ। तर, कसैले कफीकै क्याफिनलाई बराबर गर्ने चिया पियो भने त्यसले अझ बढि एलर्ट महशुस गराउँदछ।

नतिजाः जसरी कफिले निन्द्राको असरलाई हटाउँदछ, त्यसरी नै चियाले पनि निन्द्राको असरलाई हटाउन मद्दत गर्दछ।

निन्द्रामा असर

चिया र कफिमा फरक खोज्ने हो भने त्यो हो हाम्रो निन्द्रासँगको नाता। हामीले दिनमा जति चिया वा कफी पिउँछौँ, त्यसको सीधा असर हाम्रो रातको निन्द्रामा पर्न जान्छ।Tea or Coffee (3)

ब्रिटेनको युनिभर्सिटीले यस बारेमा अनुसन्धान गरेको थियो र त्यसको रोचक नतिजा निस्किएको थियो। कफि पिउनेलाई राती निन्द्रा पाउन अलि मुश्किल हुने गर्दछ। दुईजना व्यक्तिमध्ये एकले चिया र अर्कोले उत्तिकै मात्रामा कफी पिउँदा रातिको बेलामा चिया पिउनेले सजिलै र आरामदायी निन्द्रा पाउँदछ भने कफी पिउनेलाई उल्टो हुने गर्दछ। यसको कारण सायद कफीमा हुने धेरै क्याफिनले गर्दा हुन सक्ने वैज्ञानिकहरूको अनुमान रहेको छ।

नतिजाः राम्रो र आरामदायी निन्द्राको लागि कफीभन्दा चिया उचित हुन्छ।

दाँतमा असर

चिया होस् या कफी, दुवैले हाम्रो दाँतको रङ्गलाई बिगार्ने काम गर्दछ। दुवैमा पाइने प्राकृतिक पिगमेन्टले हाम्रो सेतो चम्किलो दाँतलाई हलुका पहेँलो बनाउने गर्दछ।

Tea or Coffee (2)तर, प्रश्न यो छ कि दुवैमध्ये कुनले हाम्रो दाँतलाई बढि असर गर्दछ? वैज्ञानिकहरूका अनुसार कफीले भन्दा चियाले हाम्रो दाँतलाई बढि पहेँलो गराउँदछ। चियामा पाइने पिगमेन्ट हाम्रो दाँतको इनामेलमा गएर सजिलै टाँस्सिन्छ र यदि चिया पिएपछि माउथवासले अथवा मञ्जनले दाँत सफा गर्यो भने अवस्था झन् बिग्रिने हुन्छ।

नतिजाः दाँतको रङ्गलाई खराब गर्ने हिसाबले कफीभन्दा चिया बढि दोषी सावित भएको छ।

एक्लोपनाको साथी

इङ्ग्ल्याण्डमा एक अर्कै कारणले गर्दा पनि चिया मन पराइन्छ। एक्लोपना अथवा दुःखको बेलामा आफ्नो साथीलाई सल्लाहको साथसाथै एक कप चिया पनि अफर गर्ने चलन रहेको छ। यस चलनलाई इङ्ग्ल्याण्डमा ‘टी विथ सिम्प्याथी’ भनिन्छ। एक कप चियाले धेरै चिन्तित अनि दुःखी व्यक्तिलाई औषधीको काम गर्ने अनुसन्धानबाट पत्ता लागेको छ। यसले आत्तिरहेको मानिसलाई राहत प्रदान गर्दछ भने दिमागलाई पनि शान्त गराउँदछ।Tea or Coffee (4)

चिया नपिउने मानिसको भन्दा दिनमा सरदर ३ कप चिया पिउने मानिसको डिप्रेसनमा जान सक्ने सम्भावनामा ३७ प्रतिशतले कमी भएको पाइएको छ।

कफीको कुरा गर्दा यसले चिन्तित, दुःखी व्यक्तिलाई राहत दिनुको सट्टा झन् बढी दिमागलाई तनावयुक्त बनाउँदछ। तर, कुनै-कुनै अनुसन्धानबाट कफीले मानिसको दिमागी स्वास्थ्यलाई लामो समयसम्म सन्तुलन राख्न मद्दत गर्दछ भन्ने तथ्य पनि पत्ता लागेको थियो।

हालै भएको एक अनुसन्धानले करीब ३ लाख मानिसहरूको जाँच गरेको थियो। जब यो खोजको नतिजा निस्कियो, तब एकदमै रोचक कुरा सामुन्ने आइपुग्यो। दिनहुँ १ कप कफी पिउनाले डिप्रेसन हुन सक्ने सम्भावनामा ८ प्रतिशतले कमी हुन सक्दछ।

तथापी, यस्ता अनुसन्धानको नतिजामै भर पर्नु पनि उचित हुँदैन। वैज्ञानिकहरूले जति ध्यान पुर्याएर अनुसन्धान गरेपनि, डिप्रेसनमा धेरै कुराले प्रभाव पारिरहेको हुन्छ। त्यसैले केवल चिया-कफी पिउनाले डिप्रेसनको खतराबाट उम्किन सकिन्छ भन्नु उचित हुँदैन।

नतिजाः सबै कुरालाई मध्यनजर गर्दा, चिया र कफी दुवैले हाम्रो दिमागलाई राहत दिने कुरा प्रष्ट हुन आउँछ।

अन्त्यमा, के निस्कर्ष निस्कियो भन्दा, तपाईँ आफूलाई मन पर्ने तरिकाले चिया वा कफी पिउन सक्नुहुन्छ। कुनै अनुसन्धानको कारणले हामी तपाईँहरूलाई आफ्नो स्वाद बदल्ने कुरामा जोड गर्न सक्दैनौँ।

यो पनि हेर्नुहोस्-
नियमित चिया पिउनुहोस्, मुटुरोगबाट बच्नुहोस्
कालो चियाको बारेमा रोचक कुरा: इतिहास देखि फाइदा बेफाइदा
कुन चिया खाने?
चिया कफी पिउनु हुन्छ ? एक पटक पढ्नुस्