१६ चैत, काठमाडौं ।

नेपाल फर्के लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनमा मधेसी मोर्चा सहभागि हुने बताएका छन् ।

एक हप्ते चीन भ्रमण पूरा गरी स्वदेश फर्केपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारसँग प्रधानमन्त्री प्रचण्डले मधेसी मोर्चाको सहभागिता मै स्थानीय तहको चुनाव हुने बताए ।

प्रचण्डले चीन भ्रमणमा जानुअघि पनि फर्केर आएपछि मोर्चासँग सहमति हुने बताएका थिए ।

‘म चीन जानु अघि नै सहमति होस् भन्ने पक्षमा म थिए तर छलफलका लागि समयको अभाव भएकाले सहमति हुन सकेन, प्रधानमन्त्री प्रचण्डले भने, तर मलाई विश्वास छ मोर्चा सहमतिमा आउँछ र उसको सहभागितामै चुनाव हुन्छ ।’

मोर्चासँग मिलेका विषयमा अहिले नै र सीमाङ्कनसहितका विषयमा स्थानीय तहको चुनावपछि र संसदीय चुनावअघि संविधान संशोधन गरेर निकास खोज्न सकिने प्रचण्डको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्ड एक हप्ते चीन भ्रमण पूरा गरी आजै स्वदेश फर्केका हुन् । एयर चाइनाको विमानबाट प्रधानमन्त्री बिहान ११ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए ।

प्रधानमन्त्रीलाई उपसभामुख, उपप्रधानमन्त्रीहरु तथा मन्त्री लगायतले विमानस्थलमा स्वागत गरे ।

विमानस्थलमा पत्रकारसँग प्रचण्डले दुई देशबीचको सम्बन्ध सुधारका लागि भ्रमण निक्कै फलदायी भएको प्रतिकृया दिए ।

एसियाका लागि बोआओ मञ्चको सम्मेलनमा सहभागि हुन प्रधानमन्त्री प्रचण्ड चैत १० गते चीन प्रस्थान गरेका थिए । उनले त्यहाँ प्रधानमन्त्री लगायत उच्च राजनीतिक तहमा भेटवार्ता गरेका थिए ।