एजेन्सी । चीनले सन् २०१७ का लागि रक्षा बजेट ७ प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको छ ।

चीनले नेशनल पिपुल्स कंग्रेसको बेइजिङमा हुने १२ औं सम्मेलनको पूर्वसन्ध्यामा आज यस्तो घोषणा गरेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षा खर्च बृद्धि गर्ने घोषणा गरेलगत्तै अर्को शक्ति राष्ट्र चीनले यस्तो घोषणा गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

ट्रम्पले गत महिना रक्षा बजेटमा झण्डै १० प्रतिशत वृद्धि गर्ने घोषणा गरेका थिए । आर्थिक बृद्धिसँगै चीनले पछिल्ला वर्ष आफ्नो सेनालाई आधुनिकीकरण गरिरहेको छ ।

यो वर्षको तथ्यांकअनुसार चीनले कूल ग्राहस्थ उत्पादनको १ दशमलब ३ प्रतिशत सेनामा खर्च गर्छ । सेनाको बजेट बढाइएपनि अन्य देशलाई हानी हुने कुनै गतिविधि नगर्ने चीनको दाबी छ ।

पछिल्लो समय चीन र अमेरिकाबीच साउथ चाइना सीको बिषयमा विवाद यथावत छ । चीनले रक्षा बजेट बढाउने विषयलाई ट्रम्पलाई कडा जवाफका रुपमा विश्लेषण गरिएको छ ।