२ भदौ, काठमाडौं । चिनियाँ उपप्रधानमन्त्री वाङ याङ नेपाल भ्रमण पूरा गरी बिहीबार फर्केका छन् । यो पछिल्लो ६ वर्षमा चीनबाट नेपालमा भएको उच्चस्तरीय भ्रमण हो । तत्कालीन चिनियाँ प्रधानमन्त्रीले सन् २०१२ जनवरीमा संक्षिप्त भ्रमण गरेयता उच्च तहको भ्रमण हुन सकेको थिएन । चीनबाट भएको उच्च तहको भ्रमणलाई सरकारले महत्व दिए पनि तत्काल हेर्दा नेपाललाई उपलब्धि भने शून्यप्रायः देखिएको छ ।

वाङको भ्रमणअघि सरकारका तर्फबाट पर्याप्त तयारी नहुँदा के एजेन्डा पेस गर्ने भन्नेमा अन्योल देखिएका कारण पुरानै विषयले प्रवेश पाए । तर, सहमतिमा पुग्ने गरी कुनै ‘ब्रेक थ्रु’ हुन सकेन । सीमापार रेल र सडक विस्तारजस्ता कनेक्टिभिटीका प्रमुख विषयमा नेपालले कुनै प्रस्ताव चीनसँग राख्न सकेन । नेपाल र चीनबीच आर्थिक सहकार्यका दीर्घकालीन मुद्दामा ऐतिहासिक सहमति र सम्झौता गर्ने अवसर नेपालले चुकाएको चीनका लागि पूर्वनेपाली राजदूत महेश मास्के बताउँछन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा हस्ताक्षरित ऐतिहासिक पारवहन सम्झौताको प्रोटोकल टुंग्याउने अवसरसमेत नेपालले यस भ्रमणमा ‘मिस’ गर्‍यो । स्रोतका अनुसार परराष्ट्र मन्त्रालयले प्रोटोकलको मस्यौदामा अघिल्लो साता मात्र चीनलाई जवाफ लेखेको थियो । चिनियाँ पक्षले उक्त मस्यौदा अध्ययन गर्ने समय नै पाएन र नेपाल भ्रमणका क्रममा त्यसबारे चाँडै टुंग्याउने मौखिक सहमति मात्र हुन सक्यो । नेपालले कुन चिनियाँ बन्दगाहबाट तेस्रो मुलुक व्यापार गर्न पाउने भन्ने विषय यही प्रोटोकलले तय गर्नेछ । नेपाल र चीनबीच पारवहन प्रोटोकलका विषयमा एकपटक तिब्बतको ल्हासामा वार्ता भए पनि अर्को बैठक नेपालमा गर्ने भनियो । तर, त्यो बैठक अझै आयोजना हुन सकेको छैन ।

नेपाललाई तेस्रो मुलुकसँग व्यापार गर्न बाटो दिने रणनीतिक तथा दीर्घकालीन हितको मुद्दामा दुई वर्षसम्म सरकारले के काम गर्‍यो भन्ने प्रश्न खडा भएको नेपाल-चीन मामिलासम्बन्धी विज्ञ रूपक सापकोटा बताउँछन् । ‘उपप्रधानमन्त्रीको तहको भ्रमणले राजनीतिक सन्देश ठूलो दिएको छ । हामीले आर्थिक विकासको मुद्दामा वाङसँग गरेको छलफल तत्कालका लागि लाभ भएको भने देखिँदैन’, उनी भन्छन् । ओली र पुष्पकमल दाहाल नेतृत्वको सरकारका पालामा भएको सम्झौता कार्यान्वयनमा वाङको भ्रमण उपयोग गर्न सकिने भए पनि त्यसतर्फ नेपालका तर्फबाट काम नभएको उनको ठम्याइ छ ।

चिनियाँ पक्षबाट नेपालको आर्थिक विकासमा दीर्घकालीन महत्वको कुनै सहयोगको घोषणा पनि भएन । बाढीपीडितलाई १० लाख अमेरिकी डलर आपत्कालीन अनुदान सहयोगको घोषणा गरेर चिनियाँ उपप्रधानमन्त्रीले भूकम्पपीडित जनताको घाउमा मलमपट्टि लगाउने प्रयासचाहिँ गरे ।