३ वैशाख, जुम्ला।

एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले चीन भ्रमणका बेला आफूले नाक्चेनाङ्ला नाका खोल्ने प्रस्ताव अघि सार्ने बताएका छन् ।

फाइल तस्बिर

फाइल तस्बिर

मुलुकको ऐतिहासिक थलो जुम्लाको सिंजाको नराकोट गाविसमा आज आयोजित बृहत् आमसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले कर्णाली प्रदेशको समृद्धि र विकासका लागि नाक्चेनाङ्ला खोल्नु अहिलेको प्रमुख आवश्यकता रहेको बताए ।

“म आज नेपाली भाषाको उद्गमस्थल सिंजामा आइपुगेको छु, यहाँको कला, संस्कृति र खस सभ्यताको संरक्षणका लागि सरकारले कर्णाली पर्यटकीय खस सङ्ग्रहालय स्थापना गर्न पहल गर्नेछ,” उनले भने।

यो सरकार परिवर्तन नहुने तर काँग्रेसलाई सहभागी बनाएर अगाडि लैजाने उनको भनाइ थियो । खडेरीबाट आजित कर्णालीवासीलाई तत्कालै राहतका लागि काम गर्ने प्रतिवद्धता पनि उनले जनाए । त्यसको साथै कर्णाली लोकमार्गको स्तरोन्नतिका निम्ति पनि आफूले एक कदम अघि बढेर काम गर्ने उनले वचन दिए । अध्यक्ष दाहाल मुगुदेखि सिंजासम्मको स्थलगत भ्रमणमा छन् ।

आमसभामा प्रदेश नं ६ का इञ्चार्ज जनार्दन शर्माले एनेकपा माओवादीको यस प्रदेशमा बसेको बैठकले तय गरेको नीति र योजनाका निर्णयहरु सार्वजनिक गरे । कर्णाली मुलुकको ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र पर्यटकीय महत्वको बोकेको प्रदेश भएको जनाउँदै इञ्चार्ज शर्माले यसको दिगो विकासका लागि उत्तरी नाका खोल्न आवश्यक रहेको बताए।

कार्यक्रममा ६ नं प्रदेशका सचिव कालीबहादुर मल्ल, पार्टीका केन्द्रीय सदस्य तथा जिल्लास्तरीय नेता कार्यकर्ताको सहभागिता रहेको थियो । अध्यक्ष दाहालसहितको टोलीको रात्रिवासी आज जुम्ला खलङ्गामा हुने र भोलि काठमाडौँका लागि यात्रा तय भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । रासस