१७ कात्तिक, चितवन । चीनमा पठाउने दुर्लभ एकसिंगे गैँडा राख्नका लागि चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत सौराहामा ‘बुमा’ (गैँडा राख्ने विशेष स्थान) को निर्माण शुरु भएको छ ।

सौराहाको निकुञ्ज कार्यालयसँगै जोडिएको जंगलमा बुमा निर्माण गर्न थालिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए । सौराहा नजिकै जंगलमा ३० मिटर लम्बाइ र २० मिटर चौडाइको ‘बुमा’ बनाउन थालिएको उहाँको भनाइ छ । बुमाको चारैतर्फ तल्लो भागमा कङ्क्रिट पर्खाल लगाइने र माथिल्लो भागमा मेस जाली लगाइने उनको भनाइ छ ।

उक्त चौघेराभित्र गैँडा मात्रै अट्ने विशेष प्रकारको खाल्डो बनाइने र गैँडालाई राखेर खानेकुरा दिइने निकुञ्जका पूर्वी सेक्टर प्रमुख तथा सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिए ।

एकैचोटि गैँडा पठाउँदा मर्न सक्ने भएकाले पहिले बानी पारेर पठाउनुपर्ने हुँदा बाह्य देशमा यसरी गैँडा लैजाँदा बुमामा राखेर पठाइने गरिन्छ । पठाउनु अघि करिब एक महिना गैँडालाई बुमामा राखिनेछ ।

चितवन राष्ट्रिय निकुञ्जबाट दुर्लभ एकसिंगे गैँडा लैजाने विषयमा केही दिनअघि चिनियाँ अधिकारी आएर आगामी तीन महिनाभित्रमा गैँडा लैजाने सहमति भएपछि बुमा निर्माणको काम थालिएको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक मनबहादुर खड्काले आगामी तीनदेखि चार महिनाको अन्तरालमा गैँडा पठाइने जानकारी दिए । चितवनबाट लैजाने दुई जोडी गैँडालाई चीनको चिमे लङ्ग सफारी पार्क र सांघाई वाइल्ड एनिमल पार्कमा राखिनेछ ।

अर्ना जसरी गैँडा पनि म-यो भने समस्या आउने भएकाले पहिलो चरणमा चितवन निकुञ्जको सौराहा सेक्टरमा बुमा (एक प्रकारको खोर)मा राखिनेछ । सरकारले २०७३ साल असारमा दुई जोडी गैँडा चीनलाई उपहार दिने निर्णय गरे पनि अहिले मात्र पठाउने प्रक्रिया थालिएको हो । चार वर्षभन्दा कम उमेरका गैँडा पठाइने निकुञ्जले जनाएको छ ।  रासस