८ भदौ, काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवा पाँच दिने भारत भ्रमणमा छन् । देउवा चौथो पटकको औपचारिक भारत भ्रमण गर्दा दिल्ली मात्र नभएर चीनमा समेत चासो बढेको छ ।

नेपालमा प्रधानमन्त्रीको पदभार ग्रहण लगत्तै भारत भ्रमण गर्नु प्रचलन झै बनिसकेको छ । तर, नेपाली प्रधानमन्त्रीको भारत भ्रमणप्रति त्यती चासो नराख्ने चीन यस पटकको भ्रमणलाबई अत्यन्तै नजिकबाट नियाली रहेको छ ।

चिनियाँ विदेश मन्त्रालय तथा चीन सरकार निकट रहेका सञ्चारमाध्यमहरुले पनि देउवाको भ्रमणका विषयमा टिका टिप्पणी गरेका छन् । चीनको संस्थापन पक्ष निकट मानिने ग्लोबल टाइम्सले प्रधानमन्त्री देउवाको दिल्ली भ्रमणबारे उच्च प्राथमिकताका साथ समाचार प्रकाशित गर्यो ।

उसले दोक्लाम मुद्दालाई लिएर चीन र भारत बीच तिक्तता बढेको समयमा नेपालका प्रधानमन्त्री देउवाले भारतको भ्रमण गरेको कुरालाई उल्लेख गरेको छ । पत्रिकाले नेपाललाई लिएर भारत र चीनको प्रतिस्पर्धा बढेको भएपनि नेपाल चीनसँग निकट भएको टिप्पणी गरेको छ ।

त्यस्तै चीनको विदेश मन्त्रालयका प्रवक्ताले नेपाल–भारतबीच राम्रो सम्बन्धलाई आफूहरुले स्वागत गर्ने बताएका छन् । नेपाल–चीन सम्बन्धलाई अगाडि बढाउन भारतले समेत सहयोग गर्नुपर्ने उनको भनाई छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भारत र नेपाल दुबै आफ्ना महत्वपूर्ण छिमेकी मुलुकहरु भएको समेत दाबी गरेको छ । तर, दोक्लामको बिषय भारतले उठान गरे नेपालको कस्तो प्रतिक्रिया हुन्छ भन्ने चिन्ता चीनको छ ।

उता, भारतको बुद्धिजिवी, मिडिया तथा राजनीतिक दलका नेताहरु बीचमा नेपाल–भारत सम्बन्धमा चीन फ्याक्टरको विषय चर्चामा छ । प्रधानमन्त्री देउवाको भारत भ्रमणलाई टाइम्स अफ इन्डिया लगायतका सञ्चारमाध्यमहरुले बेइजिङबाट आफ्ना संवादाताले तयार पारेका खबरहरु सार्वजनिक गरेका छन् ।

नेपालको प्रधानमन्त्री भारत भ्रमणमा, चीन चिन्तामा’ टाइम्स अफ इन्डियाले शिर्षक राखेर समाचार प्रकाशित गरेको छ । भारतका विश्लेषक तथा नेपाल मामिलाका जानकारहरुले भारतले देउवाको भ्रमणको समयमा दोक्लामको विषय उठान गर्ने दाबी गरिरहेका छन् । तर, नेपाली अधिकारीहरुले भने दोक्लाम बिषयमा कुनै छलफल नहुने बताइरहेका छन् ।

पछिल्लो समय नेपाल र चीनबीचको बढ्दो सम्बन्धले भारत चिन्तीत बनेको छ । चीन भने पछिल्लो समयमा आफूहरुसँगको सम्बन्ध अलि गाढा होस् भन्ने चाहिरहेको छ । जसले पनि दिल्ली र बेइजिङबीचको तिक्तता सामू नेपालले दुबै देशसँग उत्तिकै निकट रहनुपर्नेछ ।