१७ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको निर्वाचनका लागि पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई विभिन्न जिम्मेबारी तोकेको छ ।

आज बसेको राप्रपाको बैठकले १४ अञ्चलमा १४ जना पदाधिकारी एवं केन्द्रीय सदस्यहरुलाई इन्चार्ज तोकेको छ । मेचीमा महामन्त्री राजेन्द्र लिङ्देन, कोशीमा महामन्त्री सुनिलबहादुर थापा, सगरमाथामा उपाध्यक्ष रामचन्द्र राय र केन्द्रीय सदस्य राजेन्द्र गुरुङ, जनकपुरमा आङछिरिङ शेर्पा, नारायणीमा उपाध्यक्ष राजिव पराजुली, बागमतीमा उपाध्यक्ष बुद्धिमान तामाङ र गण्डकीमा सहमहामन्त्री हेमजङ्ग गुरुङलाई इन्चार्ज तोकिएको छ ।

त्यस्तै धौलागिरीमा केन्द्रीय सदस्य भीमप्रसाद गौचन, लुम्बीनीमा महामन्त्री ध्रुवबहादुर प्रधान, राप्तीमा सहायक महामन्त्री मनोज प्रधान, भेरीमा केन्द्रीय सदस्य प्रेमबहादुर भण्डारी, कर्णालीमा केन्द्रीय सदस्य धनबहादुर बुढा, सेतीमा सहमहामन्त्री चन्द्रबहादुर गुरुङ र महाकालीमा जयन्त चन्दलाई इन्चार्ज बनाइएको छ ।

बैठकले चुनावका लागि तयार रहन कार्यकर्तालाई निर्देशन समेत दिएको छ । बैठकले पार्टी र सरकारबीच कामको समन्वय गर्न उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा प्रवक्ता सुशील श्रेष्ठ र सहमहामन्त्री निलकण्ठ काफ्ले सदस्य रहेको समिति बनाइएको प्रवक्ता भुवन पाठकले जानकारी दिए ।

बैठकले चुनावलाई लक्षित गरी आगामी बैशाख १० गते १४ अञ्चलमै आमसभा गर्ने निर्णय पनि गरेको छ ।