११ फागुन, काठमाडौं ।

सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन सम्पन्न गर्नका लागि नयाँ शक्ति पार्टीले सर्वपक्षीय सरकारको प्रस्ताव गरेको छ । बुधबार बसेको नयाँ शक्तिको विशेष राजनीतिक समितिको बैठकले नयाँ संविधानको सर्वस्वीकायर्ताका लागि संशोधन र तीनै तहको निर्वाचन सम्पन्न गर्न सर्वपक्षीय सरकार अनिवार्य रहेको निष्कर्ष निकालेको हो ।

नयाँ शक्तिले निर्वाचनलाई लोकतन्त्रको मेरुदण्ड भन्दै आगामी एक वर्षभित्र हुनुपर्ने तीन तहको निर्वाचनप्रति पूर्ण प्रतिवद्ध रहेको पनि बताएको छ । बैठक पछि जारी गरिएको विज्ञप्तीमा भनिएको छ, ‘सुशासन र विकास सहितको आर्थिक समृद्धिको एजेण्डाका आधारमा जनतावाट अनुमोदित हुँदै उक्त एजेण्डाहरु लागू गर्न हाम्रो पार्टी सदा तयार र तत्पर छ ।’

‘दलीय भागवण्डामा चुनावको घोषणा गर्न थालिएकाले यो सत्तास्वार्थका लागि र चुनाव नगर्नका लागि घोषणा गरिएको चुनावको रुपमा पनि यसलाई लिइएको छ, विज्ञप्तीमा भनिएको छ, ‘तसर्थ चुनावको निम्ति आवश्यक वातावरण तयार गर्ने र सबै पक्षबीच विश्वासको वातावरण तयार गर्ने काम सरकारले पहिले गरोस् भन्ने हामी जोडदार माग गर्दछौं ।’

नयाँ संविधान बमोजिमको निर्वाचनका लागि जरुरी वातावरण तयार गर्न नयाँ शक्तिले ६ वटा माग अघि सारेको छ ।

क) जारी संविधानप्रति असन्तुष्ट पक्षहरुको माग सम्बोधन गर्न संविधान संशोधन गर ।
ख) प्रदेशको सीमांकनको विषय हल गर्दै स्थानीय तहको पुनस्संरचनाको विवाद अन्त गर ।
ग) स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचनका लागि सर्वपक्षीय सरकारको गठन गर ।
घ) भौगोलिक अखण्डताको संरक्षण गर्दै राष्ट्रिय एकता सुदृढ गर्न स्थीरता र विकासको सुनिश्चितताकालागि प्रत्यक्ष निर्वा्चित कार्यकारीको व्यवस्था गर ।
ङ) निर्वाचनमा हुने भ्रष्टाचार, अनियमितता रोक्न र सबैको पहुँच कायम गर्न निर्वाचन खर्च निश्चित मापदण्डका आधारमा राज्यकोषबाट व्यहोर्ने व्यवस्था गर ।
च) समय र खर्चको मितव्ययीताका लागि संघ, प्रदेश र स्थानीय तह तीनवटैको निर्वाचन एकैचोटि सम्पन्न गर ।