संगिता कुँवर
२९ बैशाख, जापान टोकियो ।

झण्डै दुई दशकपछि मेरो देशमा साँच्चीकै मेरा प्रतिनिधि चुनिदै छन् । जसले मेरो घरसम्म जाने भत्केकोको मोटर बाटो देख्ने छन् । गाउँमा पानी, विजुली, टेलिफोन, स्वास्थ्य चौधी जस्ता ससाना समस्याहरुलाई नजिकैबाट महसुस गर्नेछन् । र समाधानको पहल गर्नेछन् ।

तर मेरो मन पिरोली रहेको छ । किनकी म अध्ययनको सिलसिलामा परको देश जापानमा छु । मेरा ती साँच्चीकैका जनप्रतिनिधिलाई भोट हालेर राम्रो मान्छेलाई जिताउने अवसर गुमाएकी छु । तर मैले भनेकी छु मेरी आमालाई, बाबालाई अनि भाई बहिनीहरुलाई कि, हाम्रो होइन राम्रो मान्छेलाई जिताउनु होला ।

पेशाले पत्रकार हुँ । त्यसैले आफ्नाेभन्दा अरुको कुरा सुन्न र सुनाउन बढी मन लाग्छ । यस्तो महत्वपूर्ण बेलामा पनि घर जान नपाउँदा उनीहरुले नेपालको चुनावलाई कसरी हेरेका छन् त ? मैले जापानमा रहेका त्यस्ता केही प्रतिनिधि पात्रसँग कुरा गरेकी छु । बाँकी उनीहरुकै शब्दमा ।

आशा र निरासाको समिश्रण

भुवन रोका, खोटाङ

राजनैतिक परिवर्तनले देशमा गणतन्त्र ल्याएको छ, नयाँ संबिधान बनिसकेको छ साथै घर आँगनमा भित्रिसकेको स्थानीय तहको निर्वाचनले देशमा राजनैतिक संकटको अन्त्य हुनेमा आशावादी छु । तर गणतान्त्रिक नेपालमा स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा ती पुरानै शैलिका निर्वाचनभन्दा फरक र नयाँपन खोजिरहेको छु, तर देखिरहेको छैन ।

पार्टीहरुका घोषणा पत्रहरु पुरानै छन्, नेताहरुको भोट माग्ने शैली पुरानै छ अनि कार्यकर्ताहरु एकअर्कामा आरोप प्रत्यारोप गर्ने प्रकृयाले निरन्तरता पाएकै छ । फेरी पनि जनताहरु विकासको लागि थोरै आशा बोकेर चुनावको लागि भोट हाल्न आतुर छन् ।

स्थानिय निर्बाचन विकासको आधार निर्माण गर्ने प्रकृया पनि हो । यो निर्वाचनमा जनताको भूमिकामा नयाँपन हुनुपर्छ । निकै बुद्दिमानीपूर्वक आफ्नो मतको प्रयोग गर्न जरुरी छ ।

आफ्नो गाउँ वा नगर विकास गर्न पार्टीभन्दा माथि उठेर सवल नेतृत्व चुन्न जरुरी छ । जसले साच्चै दृढ संकल्पका साथ सभ्य, विकसित र नौलो समाजको निर्माण गर्न सकोस् । यो अन्तिम अबसर हो आफ्नो गाउँ, नगर र देशको बिकास गर्ने ।

एक गलत भोटले हामी अविकसित देशका नागरिक बनिरहनेछौं भने एउटा सहि भोटले संमृद्ध नेपाल निर्माणमा सहयोग पुग्नेछ । विदेशमा बसेर देशमा हुन गईरहेको स्थानिय तहको चुनाव नियालीरहँदा राजनैतिक स्थिरता र विकासको थोरै आशा, साथमा नेता र कार्यकर्ताहहरुको पुरानै शैली देख्दा थोरै निराशा पनि लागेको छ ।

यो बेला कुनै प्रलोभन अनि लोभलालचमा नपरी निस्पक्ष ढंगले आफ्नो सम्पुर्ण विबेक प्रयोग गरी सवल, सक्षम, सृजनशील र ईमान्दार नेता चुनौं ।

आडम्बरी र अहंकारीलाई भोट नदिनुहाेला

गणेश ढकाल, नुवाकोट

निकै नै खुशी छु र साथै दुखी पनि । खुशि यस अर्थ मा की छु कि, मेरो गाउँले अब स्थानीय स्तरको नयाँ प्रतिनिधि पाउदै छ, र दुखी यस अर्थ मा छु कि, २० वर्षपछि हुन लागेको यस चुनाबमा स्वयम् उपस्थिती भै भोट हाल्न पाउने अवसरबाट बन्चित छु ।

नेपालमा हुँदाको देश प्रतिको मायाभन्दा प्रदेशी भइसकेपछिको देशप्रतिको माया अझै प्रगाढ हुने रहेछ । यस निर्वाचनमा म स्वयम उपस्थित हुन नसके पनि अब गम्भीर भएर सोच्ने बेला आयको छ, कतै हामीले पहिले जस्तै लोभलालचमा लागेर राम्रोलाईभन्दा पनि हाम्रोलाई जिताउने कोसिस त गर्दै छैनौ ?

हामीले सोच्ने बेला आएको छ, जसले हाम्रो गाउँसमाज, घरटोलको राम्रो प्रतिनिधित्व गर्छ, हाम्रा समस्यालाई नजिकबाट बुझेको छ र समाधान गर्ने हैसियत राख्छ, समाजलाइ एउटा सवृद्धिको बाटो तिर लैजाने हिम्मत गर्छ, त्यस्तोलाई भोट दिनुहोला, नकि आडम्बरी र अहंकारीलाई ।

चुनाब भनेको जंगलमा चराहरुको आवाज जस्तै हो

रबिन शर्मा, पर्वत

नेपाली राजनिति र चुनाबमा प्रयोग हुने भनेकै मनि र मसल (पैसा र पाखुरि) हो । थोरै मात्र सबैको बुद्धिको प्रयोग हुदोहो त देश संसारको नम्बर वान हुने थियो । आफ्नै कारणले पटक पटक हार्छौ हामी नेपालि जनता । यो पटक पनि हार्यौ भने देश कहिल्यै बन्ने छैन । के मनि र मसलको प्रयोग नगरिकन नेपालमा राजनिति र चुनाब सम्भब छैन ?

आफुले नै चाहेको ब्याक्ति बिजयी हुनु पर्छ भन्ने छैन । जो सुकै नेतृत्वमा पुगोस् ऊ सक्षम र असल हुनुपर्छ । अनि हार्नेहरुले हार स्विकार गरी काम गर्ने वाताबरण सृजना गर्ने मानसिकता नबोकेसम्म देश बन्दैन ।

चुनाब भनेको जंगलमा चराहरुको आवाज जस्तै हो । मन परे पनि मन नपरे पनि अरु प्राणीहरुले चुपचाप सुनिरहन्छन, कसैलाई साह्रै राम्रो लाग्छ, कसैलाई लाग्दैन । तर पनि चरा आफ्नो आयु रहुन्जेल कराई रहन्छ । प्रिय देशका ‘लालिगुरास, डाफे , हिमाल, पहाड र तराई, हजुरको मत गलत ठाऊमा नपरोस् ।

भिजन भएको नेता चुनौं

दुर्गाबहादुर खत्री, बागलुङ

यसपालीको चुनाबले तपाई हाम्रो समाजको सबृद्धिलाई प्रभाव पार्छ । नगरपालिका वडाका उमेदबारहरु लामो समय स्थानीय निकाय रिक्त रहदाँ पनि आफ्नो ब्याक्तिगत स्वार्थभन्दा माथी उठेर आफ्नो गाउँठाउँको विकास र सवृद्घिलाई ब्यवस्थित गर्ने काममा क्रियाशील समाजसेवीहरु नै अगाडी सारिनुलाई सकारात्मक रुपमा लिनुपर्छ ।

तर अबको स्थानिय निकायका पदाधिकारी यस्ता हुन जरुरी छ, जसले ५ बर्षपछिको समाजको स्पष्ट खाका र योजना प्रस्तुत गर्न सकोस् । यो छनौटको अवसरका लागी मतदातामाझ आफ्नो उमेदवारले आफ्नो उमेदबारी मात्र घोषणा नगरी ५ बर्षे योजना पत्र घोषणा गरेमा मतदातालाई योग्य उमेदवार चुन्न सजिलो पर्ने थियो ।