२८ भदौ, काठमाडौं ।

निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ भाग लिने दलहरुको सूची आज सार्वजनिक गर्ने भएको छ । तीन दिन भित्र परेका निवेदनमाथि आज दिनभर छानवीन गरी बेलुकी दलहरुको सूची सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता नवराज ढकालका अनुसार आयोगमा दर्ता भएका ९१ वटा मध्ये ८८ वटा दलहरुले निर्वाचनमा भाग लिन निवेदन दिएका छन् । चार÷पाँच वटा बाहेक सबै दलले केन्द्र र सबै प्रदेशको चुनावमा भाग लिन निवेदन दिएको प्रवक्ता ढकालले जानकारी दिए ।

निर्वाचन कार्यतालिका अनुसार नाम फिर्ता लिन चाहने राजनीतिक दलका लागि भोलि एक दिनको समय दिइएको छ । पर्सि अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका रहेका आयोगले जनाएको छ ।

निर्वाचन कार्यक्रम अनुसार असोज २९ गते दलहरुले समानुपातिक निर्वाचन तर्फका उम्मेद्वारहरुको बन्द सूची आयोगमा पेश गर्नुपर्नेछ ।

यसैबीच, असोज २ गते हुने स्थानीय तह तेस्रो चरणको चुनावमा परिचालन हुने कर्मचारीहरु आज सम्बन्धित मतदान केन्द्रका लागि प्रस्थान गर्दैछन् । प्रत्येक मतदान केन्द्रमा न्यूनतम ६ जनाका दरले ३१ हजार कर्मचारी परिचालन गरिएको आयोगका प्रवक्ता ढकालको भनाई छ ।

आयोगले सम्बन्धित मतदान केन्द्रहरुबाट पर्सि ३० गतेदेखि मतदाता परिचयपत्र वितरण गर्नेछ । भोलीसम्म सबै मतदान केन्द्रमा पुगिसक्नेगरी कर्मचारी खटाइएको आयोगले जनाएको छ ।