१४ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले स्थानीय तहको आजको चुनावमा सत्तारुढ दलहरुले सत्ताको चरम दुरुपयोग गरेको आरोप लगाएको छ ।

मतदान सकिएलगत्तै प्रेस वक्तव्य सार्वजनिक गर्दै एमालेले सत्ताको दुरुपयोगबाट जनमतलाई प्रभावित पार्ने कोशिश गरिएकोप्रति आपत्ति प्रकट गरेको हो ।

‘अछाम, बझाङ, डोटी, डडेल्धुरा, कैलालीलगायतका जिल्लामा राज्यसत्ताको दुरुपयोगबाट जनमतलाई प्रभावित पार्ने कोसिस गरिएको छ । अछामको साँफेबगर नगरपालिका–७ स्थित सरस्वती मावि मतदान केन्द्रमा हुलहुज्जत गरी मतदान केन्द्र कब्जा गरिएको छ भने डोटीको केआई सिंह नगरपालिकामा पनि त्यस्तै गरिएको छ ।’

एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईद्वारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ, ‘अछामको मेल्लेख, पञ्चदेवल नपाको विनायक, बझाङको चैनपुर, कैलालीको बद्रगारियालगायतका ठाउँमा सत्ताको आडमा व्यापक धाँधली गरिएको छ । पहिलो चरणको निर्वाचनमा यस्तै धाँधली भएकोमा संसद्बाट संसदीय छानबिन समिति बनिसकेको अवस्थामा त्यही रबैया दोहोर्याइनुले हामीलाई चिन्तित बनाएको छ ।’

यि घटनाको घोर भत्र्सना गर्दै धाँधली भएका मतदान केन्द्रमा पुनः मतदान गर्न एमालेले माग पनि गरेको छ । उसले चुनावमा भाग लिने सबै राजनीतिक दल, उमेद्बार, मतदाता, पर्यवेक्षक, निजामति कर्मचारी र सुरक्षाकर्मीलाई धन्यवाद पनि दिएको छ ।