७ माघ, दाङ ।

नेकपा एमालेका पोलिटब्युरो सदस्य बेदुराम भुषालले निर्वाचन घोषणा गर्न सरकारले तत्परता नदेखाएको बताएका छन्।

सरकारले निर्वाचनभन्दा पनि संविधान संसोधन ल्याएर निर्वाचन टार्न खोजेको आरोप उनको थियो । सरकारले निर्वाचनमा तत्परता देखाउन सकेको छैन, प्रेस चौतारी दाङले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भुषालले भने ‘निर्वाचनका लागि निर्वाचन विधेयक अघि बढ्न सकेको छैन। अरु कार्य पनि त्यतिकै छन्।’

उनले मुलुकमा निर्वाचन गराउन छोडेर सरकारले संविधान संसोधन विधेयक दर्ता गरेर अल्झाउन खोजेको बताउँदै भने ‘सरकारले ल्याएको संसोधन विधेयक राष्ट्रको पक्षमा छैन।’ ‘यो विधेयकले पहाड र तराइलाई अलग गराउन खोजेको छ’, नेता भुषालले भने ‘यो फिर्ता गर्नुको विकल्प छैन।’

उनले संविधान संसोधन विधेयक पास नहुने समेत बताए। ‘संविधान संशोधन विधेयक मतदानमा गएपनि फेल हुन्छ । त्योभन्दा सरकारले फिर्ता गरे नै उत्तम छ’ उनले भने ‘पास गर्नका लागि सरकारसँग दुइतिहाई मत चाहिन्छ । तर प्रतिपक्षसंग नै एकतिहाई मत छ ।’

संविधान कार्यान्वयनका लागि निर्वाचनको विकल्प नभएको भन्दै नेता भुषालले चुनावको मिति घोषणा गर्न मागसमेत गरे। रासस