१० माघ, काठमाडौं ।
सर्वाधिक सफल एवं चर्चित नेपाली चलचित्र छक्का पञ्जाका निर्देशक दीपकराज गिरीले आफ्नो चलचित्रमाथि नकारात्मक टिप्पणी गर्नेविरुद्ध कडा प्रहार गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले नकारात्मक टिप्पणी गर्नेविरुद्ध कटाक्ष गरेका हुन् । पछिल्लो समय युटुबमा समेत राखिएको चलचित्र छक्का पञ्जाले पश्चिमेली भाषा बिगारेको, महिलाको चरित्रमाथि गम्भीर प्रश्न खडा गरिएको लगायतका आरोप लागेपछि गिरीले स्टाटस लेखेका हुन् ।

यदि दंगल नेपाली फिल्म भइदिएको भए केही दर्शकको प्रतिक्रिया यस्तो हुन्थ्यो भन्दै उनले लेखेका छन्, ‘मलाइ याद छ एक जमानामा सुपरहिट फिल्म ‘लुट’ लाइ लुट्न सिकाको ? अब हामी बैंक लुट्न जाने भन्ने कमेन्ट पनि आयो किन हामि नेपाली चलचित्रलाइ यस्तो दृष्टिकोणले हेर्छौ….बिदेशी फिल्मको अगाडि टाउको उठाको नेपाली चलचित्र उद्योग लाइ समाप्तै पार्ने हो त? …. जिज्ञासा मात्रै हो है घमन्ड नभन्नु होला !!!’