१३ वैशाख,  धनगढी ।

नेपाली काँग्रेस कैलालीले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट उठाइने उम्मेदवारको छनोट प्रक्रिया केही दिनका लागि स्थागित गरेको छ ।

काँग्रेसका जिल्ला उपसभापति प्रकाश बमले वैशाख ३१ गतेका लागि तोकिएको निर्वाचनको मिति सरेर जेठ ३१ गते तोकिएपछि केही दिनका लागि उम्मेदवार छनोट प्रक्रिया स्थगित गरिएको बताए ।

“केही दिन छनोट प्रक्रिया स्थगित गरेर वैशाख महिनाभित्रमा उम्मेदवारको टुङ्गो लगाइसक्छौँ,” उनले भने ।

काँग्रेसको तर्फबाट प्रमुख पदका लागि धनगढी उपमहानगरपालिकामा कृष्णबहादुर महरा र नृप ओड, टीकापुर नगरपालिकामा जङ्गबहादुर साउद र केशरी विष्ट, गोदावरी नगरपालिलकामा हेमप्रकाश उप्रेती, वीरेन्द्र भट्ट र खडक बडैला, गौरीगङ्गा नगरपालिकामा दिनेश जोशी, शेरबहादुर देउवा र भोजबहादुर बम, लम्कीचुहा नगरपालिकामा देवानन्द जैशी र भक्तबहादुर थापा तथा घोडाघोडी नगरपालिकामा लक्ष्मीराज जैशी र रीता चौधरीलगायतका आकाङ्क्षी रहेको जिल्ला उपसभापति बमले बताए।

नेकपा एमालेले भने जिल्लाका १३ स्थानीय तहमध्ये १० वटा स्थानीय तहमा पार्टीबाट उठाइने प्रमुख, उपप्रमुखलगायत पदका उम्मेदवारको टुङगो लगाइसकेको छ ।

एमालेको– ७ नं प्रदेश सङ्गठन समितिको कार्यालयका सचिव दिनेशचन्द्र सुवेदीले धनगढी उपमहानगरपालिका, लम्की चुहा र गोदावरी नगरपालिकामा उम्मेदवारको टुङ्गो लगाउन बाँकी रहेको जानकारी दिए ।

सो पार्टीले टिकापुर नगरपालिकामा तपेन्द्र रावल, भजनी नगरपालिकामा प्रदीप मल्ल, घोडाघोडी नगरपालिकामा अमर साउद, गौरीगङ्गा नगरपालिकामा भीम देउवालाई प्रमुखको उम्मेदवार बनाउने टुङ्गो लगाएको छ ।

नेकपा (माओवादी केन्द्र)ले अधिकांश तहमा पार्टीका तर्फबाट उठाइने उम्मेदवारको टुङ्गो लगाइसकेको छ । सो पार्टीले धनगढी उपमहानगरमा रामसमझ राना, गोदावरी नगरापलिकामा गोकर्ण भट्ट, भजनी नगरमा शेरबहादुर थारुलाई प्रमुख पदमा उठाउने निर्णय गरिसकेको छ ।

राप्रपा, नेकपा माले, राष्ट्रिय जनमोर्चा लगायतका दललेले उम्मेदवारको टुङ्गो अहिलेसम्म लगाउनसकेका छैनन् । चुनावी सरगर्मी बढ्दै जाँदा प्रायः सबै दलहरुले आ–आफ्नो प्रचारप्रसार अभियान गरिरहेका छन् । उद्योगी एवम् व्यापारी गोपाल हमाल धनगढी उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै चुनावी अभियानमा लागेका छन् । रासस