पोखरा, २५ जेठ गण्डकी प्रदेशमा आज छुट्टाछुट्टै घटनामा परी तीन जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार कास्की, मनाङ र स्याङ्जा जिल्लामा भएका घटनामा दुई महिलासहित तीनको मृत्यु भएको हो ।

पोखरा महानगरपालिका–११ फूलबारीमा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । निर्माणाधीन घरमा पानी तान्ने मोटरको तार छुटाउन खोज्दा करेन्ट लागेर घाइते भएका पोखरा भद्रकाली बस्ने १८ वर्षीय मजदुर प्रवीण नेपालीको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी मनाङ जिल्लाको नार्फा भूमि गाउँपालिका–२ की ३४ वर्षीया ढोल्पा नाङसेङ लामाको भीरबाट खसेर मृत्यु भएको छ । यार्सागुम्बा सङ्कलन गर्ने क्रममा सोही स्थानको ध्याङसेङको भीरबाट लगभग ८०० मिटर तल खस्दा उनको घटनास्थलमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए।

उनका अनुसार स्याङ्जा जिल्लास्थित कालीगण्डकी नदीमा खसेर अर्की एक युवतीको ज्यान गएको छ । कालीगण्डकी नदी किनारामा रहेको गुठी मन्दिर नजिक हातखट्टा धुने क्रममा अचानक नदीमा खस्दा कालीगण्डकी गाउँपालिका–२ भुरडाँडाकी २५ वर्षीया मीना थापाको मृत्यु भएको हो । प्रहरीका अनुसार घटनाका बारेमा आवश्यक अनुसन्धान शुरु गरिएको छ । रासस