छुट्टै जिल्ला बनाउनुपर्ने माग गर्दै प्रधानमन्त्री देउवालाई पत्र

८ साउन, काठमाडौं । पूर्वी रुकुमलाई अलग्गै जिल्ला बनाउनुपर्ने माग गर्दै सो क्षेत्रबाट निर्वाचित जनप्रतिनिधि र सर्वदलीय प्रतिनिधिमण्डलले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन ।

देशलाई संघीय संरचनामा लैजाँदा पूर्वी रुकुमका पुथा उत्तरगंगा, भुमे र सिस्ने गाउँपालिकालाई प्रदेश ५ मा र बाँकी ६ स्थानीय तह प्रदेश ६ मा विभाजन गरिएको थियो ।

जिल्लाको ५८ प्रतिशत भू–भाग ओगट्ने पूर्वी भागलाई संविधानको धारा ५६ को उपधारा ३ सँग सम्बन्धित अनुसूची ४ बमोजिम छुट्टै जिल्ला बनाइनुपर्ने माग आफूहरुले प्रधानमन्त्री समक्ष राखेको सो क्षेत्रका सांसद एवम् नेकपा(माओवादी केन्द्र)का नेता गणेशमान पुनले जानकारी दिए ।

भेटमा प्रधानमन्त्रीले मागका सम्बन्धमा अध्ययन गर्ने र छुट्टै जिल्ला बनाउन पहल गर्ने आश्वासन दिएको नेता पुनले बताए ।

सो क्षेत्रबाट निर्वाचित सांसद पुन, नेपाली काँग्रेसका नेता एवं पूर्वसहायकमन्त्री केशरमान रोक्का, नेकपा(एमाले)का केन्द्रीय सदस्य खेममान खड्का, सो क्षेत्रका तीन गाउँपालिकाका निर्वाचित अध्यक्षलगायतको सर्वदलीय टोलीले शनिबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।