१३ वैशाख, एजेन्सी।

थाइल्याण्डमा एक व्यक्तिले फेसबुक लाइभ गर्दे आफ्नी छोरीको हत्या गरि आत्महत्या गरेको खबर छ।

घटना थाइल्याण्डको फुकेट स्थित एक होटलको हो । पत्नीसंग झगडा भएपश्चात २१ वर्षको सो व्यक्तिले छोरीलाई झुन्ड्याएर हत्या पश्चात आफुपनि झुण्डिएर आत्महत्या गरेको हो। यो सबै घटना उसले आफ्नो फेसबुकमा लाइभ भिडियो पोस्ट गरेको थियो।

भिडियोमा उसले छोरीको घाँटीमा डोरीबाँधी सिलिङमा झुण्ड्याएको देखिएको बीबीसीले जनाएको छ। मृत्यु पश्चात छोरीको शवलाई डोरीबाट निकालेको भिडियोमा देखिएको थियो।

जब सम्बन्धित परिवार अनि साथीहरुले यो भिडियो देखे तत्काल प्रहरीसम्म खबर पुग्यो। तर घटनास्थलमा प्रहरी पुग्नु अगावै छोरीको हत्या पश्चात सो व्यक्तिले आत्महत्या गरिसकेको थियो।

फेसबुकले घटनामा समवेदना प्रकट गर्दै सो भिडियो हटाएको छ।

फेसबुकका प्रवक्ताले एक विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘यो मुटु हल्लाउने भिडियो हो। हामी पीडित परिवार प्रति गहिरो समवेदना प्रकट गर्छौ। यस्तो प्रकारको सामाग्रीको लागि फेसबुकमा ठाउँ छैन र हामीले यसलाई हटाएका छौ।’

यो भन्दा पहिले अमेरिकामा एक वृद्धको हत्याको भिडियो फेसबुकमा पोस्ट भएपश्चात फेसबुकले भविष्यमा यस्तो आपत्तिजनक कन्टेन्ट फेसबुकमा पोस्ट गर्नबाट रोक्न आफ्नो नीतिको समीक्षा गर्ने बताएको थियो।

थाइल्याण्डको यो घटनाको भिडियो युट्युबमा पनि केही समय देखिएको थियो। बीबीसी भन्छ युट्युबलाई यसबारेमा बीबीसीले जनकारी गराएपछि सो हटाइएको थियो।