भारतबाट सरकारले खरिद गर्न लागेको लेड (LED) बल्बको विषय अहिले चर्चामा छ। यसबिषयमा एक राष्ट्रिय दैनिकले लेखेको समचारले अहिले विवाद खडा गरेको छ। पैसाको चलखेल भन्दै खबर छापेपछि लोडसेडिङ हटाएका विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन गरेर यसबारे स्पष्टिकरण समेत दिइसकेका छन्।

आखिर के हो लेड बल्ब ?

गाउँघरमा भर्खर बिजुली बत्तीको मुख देख्दा हामी सबैले सबैभन्दा पहिले टङ्गस्टेन बल्ब देखेका हौँ।

सामान्यता २०-३० वाट देखि १००-२०० वाटसम्मका टङ्गस्टेन बल्बले विद्युति उर्जाको २०-३० प्रतिशत मात्र प्रकाशमा परिणत गर्न सक्छ । बाँकी ७०-८० प्रतिशत विद्युति उर्जा ताप शक्तिमा परिणत हुन्छ। त्यसैले यस्तो बल्ब केही बेर बाल्दा पनि छुनै नसकिने गरि तातो हुन्छ।

त्यसपछि ट्युबलाइट प्रचलन आयो। जसलाई फ्लोरिसेन्ट बल्ब भनिन्छ। यसले विद्युति उर्जालाई निकै हदसम्म खपत गर्छ। अर्थात १० वाटको टङ्गस्टेन बल्बले जति प्रकाश उत्पन्न गर्छ त्यसको कयौं गुणा १० वाटको ट्युबलाइटले गर्छ। त्यसपछि सिएफएल अर्थात Compact Fluorescent Lights पनि ट्युबलाइटकै सानो तर परिस्कृत भर्जन हो।

तुलाना गर्दा ४० वाटको टङ्गस्टेन बल्बले ५५० लुमेन्स प्रकाश दिन्छ, यहि प्रकाश ९ वाटको सिएफएल बल्बले दिन्छ। त्यसपछि अहिले प्रचलनमा लेड बल्ब आएको छ । ७ वाटको लेड बल्बले नै ७०० लुमेन्स प्रकाश दिन्छ। (लुमेन्स आंखाले देख्न सकिने प्रकाश मापन गर्ने एकाई हो)

देशमा लोडसेडिङ अन्त्य भएको छ। तर यो डेढ-दुई वर्ष सम्म कुनै ठूला आयोजनाले विद्युत उत्पादन सुरु नगर्ने तर खपत बढ्ने देखेपछि उर्जा मन्त्रालयले खपत घटाउन देशभरका अन्य बल्बलाई बिस्थापित गर्ने उद्धेश्यले लेड बल्ब खरिदको प्रक्रिया अघि बढाएको हो।

परम्परागत बल्ब भन्दा १० औँ गुणा कम विजुली खपत गर्ने, तर प्रकाश बढी दिने भएकाले लेड बल्बको माग अहिले विश्वभर छ।

यो बाहेक लेड बल्बको विशेषता के-के छन् ?

-सामान्य टङ्गस्टेन बल्बको लाइफटाइम करिब १००० घण्टा हुन्छ। सिएफएलको १०,००० घण्टा हुन्छ। लेड बल्ब ५०,००० घण्टासम्म लगातार बल्न सक्छ।

-१०,००० घण्टा (४१६ दिन दिनरात) सम्म सिएफएल बल्ब निरन्तर बल्दा ७०० किलोवाट विजुली खपत गर्छ। तर ५०,००० घण्टा (२०८० दिनरात) बल्दा पनि लेडबल्बले केवल ५०० किलोवाट बिजुली खपत गर्छ।

-अन्य बल्ब भन्दा लेड बल्बले उर्जालाई किफायती ढंगले प्रकाशमा परिणत गर्छ। अर्थात अन्य बल्ब जस्तो यो तात्ने हुँदैन।

लेड बल्बलाई हामीले दैनिक जीवनमा प्रयोग गर्दै आएका छौ। मोबाइलको फ्ल्यास देखि सोलारबाट चल्ने बिभिन्न बल्बहरुमा लेड प्रयोग हुँदै आएको छ। यो विभिन्न रंगमा किन्न पाइन्छ।