लक्ष्मी प्रसाद सापकोटा

५ कात्तिक, फलेवास (पर्वत)।

चुनावका प्रचार सभा हुन् वा पार्टीका राजनैतिक कार्यक्रम नै किन नहुन्, रामभक्तले माइक समाएर गीत नगाई हुन्थेन । राजनीतिक सभा र चुनावी सभामा गीत गाउँदै हिँड्दा उनले डेढ दशक बिताए पनि ।

मीठो स्वरका धनी पर्वतको साबिक पिपलटारी–९ हालको कुस्मा नगरपालिका–१६ का ४० वर्षीय देवीबहादुर विक (रामभक्त)का अहिले दुवै मिर्गाैला काम नगर्ने अवस्थामा पुगेका छन् । तर खर्च अभावमा उपचार गर्न सकिरहेका छैनन् ।

चुनाव र पार्टीका कार्यक्रममा सबैले खोज्ने रामभक्त विक अहिले उपचारका लागि सहयोगको याचना गर्दैछन् तर उनलाई नेताले सहयोग गर्ने त परै जाओस् वास्तासमेत गरेका छैनन् ।

गाउँमा काठको काम गर्दै आएका रामभक्त विक भन्छन्, “जीवनको ठूलो हिस्सा राजनीतिक कार्यक्रममा गीत गाएर हिँड्दैमा, नेताको चुनाव प्रचारमा लाग्दैमा बित्यो, धन कमाइएन, अहिले उपचार गर्न खर्च छैन, कसैले दिँदैन”, उनको एउटा मिर्गाैलाले काम गर्दैन भने एउटा मिर्गाैलाले सामान्य काम गर्छ ।

त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा उनलाई डाक्टरले मिर्गाैला प्रत्यारोपण गर्न सुझाएका छन् । एउटा मिर्गाैला प्रत्यारोपण गर्नका लागि आठ लाख रुपैयाँ लाग्छ तर उनीसँग अहिले आठ हजार पनि जुटाउन मुस्किल छ । आमा मनु विकले एउटा मिर्गाैला दिने भएकाले प्रत्यारोपणको खर्च जुटाउन उनी घरदैलो सहयोग माग्दैछन् । “अहिलेसम्म मैले अरूको जितका लागि गाएर हिँडे, अब मैले मृत्युलाई जित्नुछ, त्यसका लागि सबैले सहयोग गरिदिएहुन्थ्यो ।”

सुरुमा नेकपा (एमाले)को विद्यार्थी सङ्गठन अनेरास्ववियुमा सक्रिय रहेका रामभक्त विक त्यस समयमा अखिलका सभा सम्मेलनदेखि नेकपा (एमाले)का चुनावी कार्यक्रम र अधिवेशनमा गीत गाउँन हिँडे । पछिल्लो समयमा नेकपा (एमाले) छाडेर हिँडेका रामभक्त नेकपा (माओवादी केन्द्र)मा छन् । उनले एमालेका तर्फबाट तत्कालीन सांसद कृष्णप्रसाद भट्टराईदेखि याम गुरुङ, जुद्धबहादुर गुरुङ सम्मका चुनावी प्रचार सभामा गीत गाएर जनमत बटुल्ने काम गरेका थिए ।

तत्कालीन नेकपा (माओबादी) मा हुँदा मनरुपा सुवेदीको चुनावी प्रचारमा महिनादिनभन्दा बढी गाउँदै हिँडेका थिए । अहिले ती नेताले उनको उपचारमा सहयोग जुटाइदिऊन् भन्ने उनको आग्रह छ ।

“मेरो जीवन रहे फेरि जनताको गीत गाउने हो”, उनले भने, “उपचारका लागि सहयोग गरिदिए मेरो नयाँ जीवन हुनेछ, अनि जनताका गीत गाउँदै हिँड्नेछु ।” उनले आफ्नो जीवनरक्षाका लागि आर्थिक सहयोग गर्न सबै निकायसँग माग पनि गरेका छन् । रासस