७ साउन, काठमाडौं ।

संविधानको प्रारम्भिक मस्यौदामा देशभरबाट सर्वसाधारणले दिएका सबै सुझाव जस्ताको तस्तै अभिलेखमा राखिने भएको छ । संविधानसभाको नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले जनताबाट प्राप्त सुझावलाई विषयवस्तुका आधारमा वर्गिकरण गरी प्रतिवेदन तयार गर्ने र प्राप्त सबै लिखित तथा मौखिक सुझावलाई जस्ताको तस्तै सुरक्षित राख्ने तयारी गरेको छ ।

संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले जनताका सुझावसहितको प्रतिवेदन प्राप्त हुनासाथ सभाले सामान्य छलफल गरी मस्यौदा परिमार्जनका लागि संबैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा पठाउने गृहकार्य भएको जानकारी दिएका छन् ।

‘संविधानको प्रारम्भिक मस्यौदामा सुझाव संकलनको राष्ट्रिय अभियानमा सहभागि भएर जनताले संविधान निर्माणका लागि हामीले गरेको प्रयासलाई समर्थन र अनुमोदन गरेका छन्,’ उनले भने– ‘जनताले आफ्ना सुझावमा ध्यान दिएर ढिला नगरी संविधान जारी गर्ने जनादेश दिएका छन् । प्राप्त सुझावलाई सकेसम्म धेरै संबोधन गरी साउन मसान्तभित्रै संविधान जारी गर्नुपर्छ ।’ आजको कान्तिपुरमा खबर छ ।